कपिलवस्तु – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको उद्धार तथा राहतका लागि कपिलवस्तुका छ स्थानीय तहले रु दुई करोड २५ लाख १३ हजार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने भएका छन् । केही स्थानीय तहले रकम जम्मा गरिसकेका छन् भने केहीले सहयोग गर्ने निर्णय गरेका छन् ।
कपिलवस्तु नगरपालिकाले रु ५१ लाख ११ हजार, वाणगङ्गा नगरपालिकाले रु ४५ लाख, बुद्धभूमि नगरपालिकाले रु ४३ लाख ४५ हजार, महाराजगञ्ज नगरपालिकाले रु ३७ लाख र शिवराज नगरपालिकाले रु ३८ लाख ५७ हजार सहयोग गर्ने निर्णय गरेका छन् । विजयनगर गाउँपालिकाले भने रु १० लाख कोषमा जम्मा गरिसकेको जनाएको छ ।
स्थानीय तहहरूले जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकको सहभागितामा सहयोग रकम जुटाएका हुन् । आफ्नै जिल्लाबाहिर विपद्मा परेका नागरिकको उद्धार र राहतका लागि स्थानीय तहले सामूहिक रूपमा सहयोग गर्न थालेपछि स्थानीय सरकारको सामाजिक उत्तरदायित्वसमेत देखिएको छ ।
बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशवकुमार श्रेष्ठले बाढीपीडितको उद्धार, घाइतेको उपचार, बेपत्ताको खोजी तथा प्रभावितको पुनःस्थापनालाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताए । कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलले विपद्का बेला स्थानीय सरकारले आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने बताए ।
कपिलवस्तुका अन्य चार स्थानीय तहले समेत बाढी प्रभावितका लागि सहयोग गर्ने तयारी गरेका छन् । जिल्लाका उद्योगी, व्यवसायी, सामुदायिक वन, विद्यालय, सामाजिक संस्था तथा समाजसेवीले पनि उद्धार कोषमा रकम जम्मा गर्ने क्रम जारी रहेको जनाइएको छ ।
भोटेकोशी बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि देशका विभिन्न स्थानीय तह, संघसंस्था र नागरिकस्तरबाट राहत तथा उद्धारका लागि सहयोग जुट्ने क्रम बढेको छ ।



