यस वर्षकाे एनपीएलको प्रत्यक्ष प्रसारण हिमालय टिभीबाट

काठमाडौं – बहुप्रतीक्षित नेपाल प्रिमियर लिग (एनपीएल) को आधिकारिक प्रसारण अधिकार हिमालय स्पोर्ट्स (हिमालय टिभी) ले प्राप्त गरेको छ। सोमबार नेपाल क्रिकेट संघ (क्यान) को कार्यालयमा बोलपत्र खोल्दा हिमालय स्पोर्ट्सले करसहित १७ करोड २४ लाख रुपैयाँको बोली लगाउँदै प्रसारण अधिकार सुरक्षित गरेको हो।

हिमालय स्पोर्ट्सले सोमबार जारी गरेको विज्ञप्तिअनुसार कम्पनीले कबोल गरेको रकम गत वर्षको प्रसारण अधिकार मूल्यभन्दा पाँच गुणाभन्दा बढी हो। त्यस्तै, यो वर्षका लागि तोकिएको न्यूनतम बोलकबोल रकमभन्दा झन्डै साढे दुई गुणा बढी रहेको कम्पनीले जनाएको छ।

कम्पनीले एनपीएलको प्रसारण अधिकार प्राप्त हुनु आफ्ना लागि गर्वको विषय भएको जनाएको छ। विज्ञप्तिमा भनिएको छ, “एनपीएल यति ठूलो स्तरको लगानीको हकदार छ भन्ने हाम्रो दृढ विश्वास हो। नेपाल क्रिकेट संघले यस प्रतियोगितालाई यस क्षेत्रकै अग्रणी खेलकुद ‘प्रोपर्टी’ का रूपमा उचाइ दिनेछ भन्नेमा हामी पूर्ण विश्वस्त छौँ।”

हिमालय स्पोर्ट्सका अनुसार एनपीएलको बढ्दो प्रसारण अधिकार मूल्यले खेलकुद संघले व्यावसायिक रूपमा दिगो र बलियो प्रतियोगिता निर्माण गर्दा हासिल गर्न सकिने उपलब्धिको उदाहरण प्रस्तुत गरेको छ।

कम्पनीले यस्तो आर्थिक वृद्धिले समग्र क्रिकेट इकोसिस्टमलाई बलियो बनाउने, थप स्रोतसाधन जुटाउने र खेलको विकासका लागि नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरेको छ।

हिमालय स्पोर्ट्सले प्रसारण अधिकारको खरिदलाई केवल व्यावसायिक लगानीका रूपमा नभई नेपाली क्रिकेटप्रतिको दीर्घकालीन प्रतिबद्धताका रूपमा लिएको जनाएको छ। एनपीएललाई गुणस्तरीय र फराकिलो पहुँचसहित दर्शकमाझ पस्कने कम्पनीको प्रतिबद्धता छ।

प्रसारण अधिकारको मूल्यमा भएको उल्लेख्य वृद्धिले एनपीएलको व्यावसायिक सम्भावना र नेपाली क्रिकेटमा बढ्दो लगानीलाई समेत संकेत गरेको छ।