भोटेकोशी बाढीमा ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता

काठमाडौं – रसुवाको भोटेकोशीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परेर ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता भएका छन्। पर्यटन विभागका अनुसार कैलाश मानसरोवर तथा जनैपूर्णिमा मेलाका लागि गोसाइँकुण्ड गएका विदेशी पर्यटक बाढीपछि सम्पर्कविहीन भएका हुन्।

पर्यटन विभागका सूचना अधिकारी सुरज घिमिरेका अनुसार विभिन्न कम्पनीमार्फत कैलाश मानसरोवर तथा गोसाइँकुण्ड गएका पर्यटक बाढीमा परेका हुन्। बेपत्ता विदेशी पर्यटकमा २५६ पुरुष, ३२९ महिला र दुई जना अन्य रहेका छन्।

बेपत्ता हुने विदेशी पर्यटकमध्ये सबैभन्दा धेरै भारतका १८४ जना छन्। त्यसपछि अमेरिकाका ६७, मलेसियाका ५५, युक्रेनका ५४, अष्ट्रेलियाका ३३, लाटभियाका ३३, बेलायतका ३२ र क्यानडाका ३० जना रहेका छन्।

यस्तै, चीनका २६, सिङ्गापुरका नौ, जर्मनीका आठ, रसियाका आठ, दक्षिण अफ्रिकाका छ, न्युजिल्यान्डका पाँच, जापानका पाँच, फ्रान्सका चार, काजकिस्तानका तीन तथा बेलारुस, आयरल्यान्ड, नेदरल्यान्ड्स, पोर्चुगल, स्पेन, बेल्जियम, इटली र पोल्यान्डका दुई–दुई जना बेपत्ता भएका छन्।

फिनल्यान्ड, हङ्गेरी, इजरायल, लिथ्वानिया, फिलिपिन्स, स्विडेन, स्विजरल्यान्ड, भियतनाम र इस्टोनियाका एक–एक जना पर्यटक पनि बाढीपछि बेपत्ता रहेको विभागले जनाएको छ।

१८८ नेपाली पर्यटक पनि बेपत्ता

भोटेकोशी बाढीमा परेर १८८ नेपाली पर्यटकसमेत बेपत्ता भएका छन्। विभागका अनुसार बेपत्ता हुने नेपालीमा १६१ पुरुष र २७ महिला छन्।

कैलाश मानसरोवर तथा गोसाइँकुण्ड भ्रमणमा गएका तथा विदेशी पर्यटकका सहयोगीका रूपमा गएका नेपाली बाढीमा परेर बेपत्ता भएको सूचना अधिकारी घिमिरेले बताए।

३०७ विदेशी पर्यटकको उद्धार

सरकारले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ। विभागका अनुसार हालसम्म ३०७ विदेशी पर्यटकको सफल उद्धार गरिएको छ।

उद्धार गरिएका विदेशी पर्यटकमा २५४ पुरुष र ५३ महिला रहेका छन्। बाढीपछि सम्पर्कविहीन भएकामध्ये सात जना पनि सम्पर्कमा आएका छन्। सम्पर्कमा आएकामा दुई पुरुष, चार महिला र एक अन्य रहेको विभागले जनाएको छ।

बेपत्ता पर्यटकको खोजी तथा उद्धारका लागि स्थानीय प्रशासन र सुरक्षा निकाय परिचालन भइरहेका छन्। बाढी प्रभावित क्षेत्रमा खोजी तथा राहत कार्यलाई तीव्रता दिइएको विभागले जनाएको छ।