कम लगानी, राम्रो आम्दानी : दूधे पिँडालु खेतीमा भोजपुरका किसान

भोजपुर – बाँदरका कारण अन्य बाली जोगाउन धौधौ परिरहेका बेला भोजपुरका किसानका लागि ‘दूधे पिँडालु’ खेती भरपर्दो वैकल्पिक बाली र आम्दानीको नयाँ स्रोत बन्न थालेको छ ।

स्वादिलो र पोषणयुक्त मानिने दूधे पिँडालुको स्थानीय बजारमा माग र मूल्य बढ्दै गएपछि यहाँका किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएका हुन् । तरकारी तथा खाजाका रूपमा प्रयोग हुने पिँडालुको भोजपुर सदरमुकामलगायत आसपासका स्थानीय हाटबजारमा अहिले प्रतिकिलो रु ५० देखि ८० सम्ममा बिक्री भइरहेको भोजपुर नगरपालिका–५ बोखिमका किसान धनबहादुर थापाले बताए ।

बाँदरले क्षति नगर्ने तथा अन्य बालीको तुलनामा कम मेहनत र लगानीमै राम्रो आम्दानी हुने भएकाले पछिल्लो समय किसान पिँडालु खेतीतर्फ आकर्षित भएको उनकाे भनाइ छ ।

“राम्रोसँग फस्टाएको एउटै बोटबाट एकदेखि तीन किलोसम्म पिँडालु उत्पादन हुन्छ,” उनले भने, “थोरै जमिनबाट पनि राम्रो आम्दानी लिन सकिन्छ । अचेल गाउँमा धेरैजसोले पिँडालुलाई मुख्य वैकल्पिक बालीका रूपमा लगाउन थालेका छन् ।”

जिल्लाका अधिकांश ग्रामीण भेगमा बाँदरको आतङ्कका कारण मकै, धान, कोदो तथा अन्य बाली जोगाउन किसानलाई निकै सास्ती हुने गरेको छ । पिँडालु जमिनमुनि फल्ने बाली भएकाले बाँदरले नोक्सान गर्न नसक्ने किसानको भनाइ छ ।

बाँदर तथा अन्य जङ्गली जनावरबाट तुलनात्मक रूपमा सुरक्षित भएकाले बाँझो छाडिएका खेतबारीमा समेत किसानले पिँडालु लगाउन थालेका स्थानीय किसान गीता विष्टले बताए ।

पिँडालुको पात र डाँठ बङ्गुरको चाराका रूपमा समेत प्रयोग हुने गरेको छ । बङ्गुरपालन गर्ने किसानले पिँडालुको बोट खरिद गरेर लैजाने गरेको विष्टले जानकारी दिए ।

स्थानीय बजारमा ग्राहकले दूधे पिँडालुलाई स्वादिलो तथा अर्गानिक खाजाका रूपमा रुचाउने गरेका छन् । बजारसम्म पुर्‍याएपछि सहजै बिक्री हुने भएकाले किसानलाई बजारीकरणको समस्या नरहेको विष्टको भनाइ छ ।

बाँदर नियन्त्रण गर्न नसक्दा खेतीयोग्य जमिन बाँझै राख्नुपर्ने बाध्यतामा रहेका किसानका लागि दूधे पिँडालु खेती गतिलो विकल्प बनेको छ । कम लगानीमा राम्रो आम्दानी हुन थालेपछि भोजपुर नगरपालिका–५ बोखिमलगायत जिल्लाका अन्य गाउँमा समेत यसको व्यावसायिक खेती विस्तार हुने क्रम बढ्दै गएको छ ।