काठमाडौं पठाइयो ५३ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौं – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो गएपछि ग्यास बोकेका बुलेट काठमाडौं जान नसक्दा विभिन्न जिल्लामा रहेका उद्योगबाट ५३ हजार ४६९ सिलिन्डर एलपी ग्यास भरेर काठमाडौं पठाइएको छ ।

चितवनसहित विभिन्न जिल्लामा रहेका ग्यास उद्योगबाट भरिएका सिलिन्डर बुधबार काठमाडौं पठाइएको नेपाल एलपी ग्यास उद्योग संघका केन्द्रीय सदस्य विमल कालाखेतीले जानकारी दिए ।

उनका अनुसार नारायणीस्थित नेपाल ग्यास उद्योगबाट विभिन्न कम्पनीका चार हजार ५४३ सिलिन्डर पठाइएको छ । तीमध्ये एचपीका एक हजार २१३, नेपाल ग्यासका एक हजार ६७८, गीताका १४० र सागरका एक हजार ५१२ सिलिन्डर रहेका छन् ।

धनुषास्थित नोबेल ग्यास उद्योगबाट सागर ग्यासका पाँच हजार ६१८ सिलिन्डर भरेर काठमाडौं पठाइएको छ । त्यसैगरी बाराको ग्यास वन उद्योगबाट सीताश्रीका एक हजार ६०९, जगदम्बा ग्यास उद्योगबाट मेट्रो एसटिसी र सूर्यका दुई हजार १२१, लियो ग्यास उद्योगबाट उग्रचण्डी र श्रीमायाका तीन हजार १८१ तथा अम्बर ग्यास उद्योगबाट सिद्धार्थ र मेट्रो एसटिसीका एक हजार ९२ सिलिन्डर पठाइएको छ ।

पर्सास्थित सुपर ग्यास उद्योगबाट हिमाल कम्पनीका ६६३, मनोज ग्यास उद्योगबाट उग्रचण्डी र मेट्रो एसटिसीका एक हजार ३७ तथा मकवानपुरस्थित सहारा ग्यास उद्योगबाट एभरेष्ट र सुगमका सात हजार ८७७ सिलिन्डर काठमाडौं पठाइएको छ ।

चितवनको नेपाल ग्यास उद्योग गण्डकीबाट एपी, नेपाल र गीता उद्योगका सात हजार ३४८ सिलिन्डर, साइबाबा ग्यास उद्योगबाट श्रीकृष्ण र साइबाबाका पाँच हजार ३३७ सिलिन्डर तथा बाबा ग्यास उद्योगबाट श्री ग्यासका आठ हजार ७१६ सिलिन्डर भरेर उपत्यका पठाइएको कालाखेतीले बताए ।

यस्तै, नवलपुरस्थित जानकी ग्यास उद्योगबाट श्रीराम र ओम उद्योगका दुई हजार ६४२ सिलिन्डर तथा नवलपरासीस्थित चण्डेश्वरी ग्यास उद्योगबाट सागरका एक हजार ६८५ सिलिन्डर काठमाडौं पठाइएको छ ।

कृष्णभीरमा पहिरो गएपछि ग्यासका बुलेट काठमाडौं आउन नसक्दा उपत्यकामा अभाव हुन नदिन विभिन्न जिल्लामा रहेका उद्योगबाट सिलिन्डर भरेर पठाउने व्यवस्था मिलाइएको हो ।