काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको भीषण हिमबाढीबाट पाँच जिल्लाका १५ स्थानीय तहमा ठूलो जनधन प्रभावित भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका बाढी प्रभावित क्षेत्रमा १६ हजार ११० घरधुरीका ६४ हजार ३३५ जना प्रभावित भएका छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार यी क्षेत्रमा कुल ५१ हजार ९९ घरधुरी र २ लाख ४ हजार ६०१ जनसङ्ख्या रहेको छ ।
प्राधिकरणको विवरणअनुसार बाढीबाट प्रत्यक्ष रूपमा ७ हजार ५७० घरधुरीका ३२ हजार ९६३ जना प्रभावित भएका छन् । प्रत्यक्ष प्रभावितमध्ये १६ हजार ७६९ पुरुष र १६ हजार १९२ महिला छन् ।
रसुवामा चार स्थानीय तह प्रभावित

भोटेकोशी बाढीबाट रसुवाका चार स्थानीय तहका १६ वडा प्रभावित भएका छन् ।
गोसाइँकुण्ड गाउँपालिकाका वडा नं. १, २, ३, ५ र ६ मा बाढीबाट १ हजार ३०३ भवन क्षतिग्रस्त भएका छन् । ती क्षेत्रमा रहेका १ हजार ४४४ घरधुरीका ५ हजार ७४३ जना प्रभावित भएका छन् ।
कालिका गाउँपालिका–१ मा ११४ भवन क्षतिग्रस्त हुँदा ११९ घरधुरीका ४९१ जना प्रभावित भएका छन् । आमाछोदिङ्मो गाउँपालिकाका वडा नं. १, २, ४ र ५ मा ७६ भवन क्षतिग्रस्त भएका छन् भने ७७ घरधुरीका ३१३ जना प्रभावित भएका छन् ।
उत्तरगया गाउँपालिकाका वडा नं. १ देखि ५ सम्म बाढीबाट प्रभावित भएका छन् । यहाँ ६६५ भवन क्षतिग्रस्त हुँदा ६९६ घरधुरीका २ हजार ७१९ जना प्रभावित भएका छन् ।
नुवाकोटमा सबैभन्दा बढी प्रभाव
नुवाकोटका चार स्थानीय तहका २१ वडा बाढीबाट प्रभावित भएका छन् । बेलकोटगढी नगरपालिका–५, ७ र ८ मा १ हजार ८३ भवन क्षतिग्रस्त भएका छन् भने १ हजार १२७ घरधुरीका ४ हजार ४८३ जना प्रभावित भएका छन् ।
विदुर नगरपालिकाका वडा नं. १, २, ३, ४, ५, ६, ७, ८, ९, १० र १२ मा बाढीको ठूलो प्रभाव परेको छ । यहाँ ५ हजार २२८ भवन क्षतिग्रस्त हुँदा ५ हजार ९२८ घरधुरीका २३ हजार २३० जना प्रभावित भएका छन् ।
किस्पाङ गाउँपालिका–५ मा ९०६ भवन क्षतिग्रस्त भएका छन् । त्यहाँ ९३९ घरधुरीका ३ हजार ३८२ जना प्रभावित भएका छन् । तारकेश्वर गाउँपालिकाका वडा नं. २ र ४ मा १७८ भवन क्षतिग्रस्त हुँदा १८५ घरधुरीका ६६५ जना प्रभावित भएका छन् ।
धादिङका चार पालिकामा असर
धादिङमा चार स्थानीय तहका १९ वडा प्रभावित भएका छन् ।
बेनीघाट रोराङ गाउँपालिकाका वडा नं. ३, ५, ७, ९ र १० मा करिडोर तथा बफर क्षेत्रमा अनुमानित १ हजार ७२३ भवन क्षति पुगेको छ । ती क्षेत्रमा १ हजार ९०५ घरधुरीका ८ हजार ६८ जना प्रभावित भएका छन् ।
गजुरी गाउँपालिकाका वडा नं. १, २, ५ र ६ मा ३५३ भवन, ३९६ घरधुरी र १ हजार ५८९ जना प्रभावित भएका छन् । गल्छी गाउँपालिकाका वडा नं. १, २, ४, ६ र ८ मा ७६६ भवन, ८४० घरधुरी र ३ हजार ३६३ जना प्रभावित भएका छन् ।
सिद्धलेक गाउँपालिकाका वडा नं. ३, ४, ६ र ७ मा ७५८ भवन, ७८१ घरधुरी र ३ हजार १७० जना प्रभावित भएका छन् ।
गोरखा र चितवनमा पनि ठूलो असर
गोरखाका गण्डकी र सहिद लखन गाउँपालिकाका १० वडा बाढीबाट प्रभावित भएका छन् ।
गण्डकी गाउँपालिकाका वडा नं. १, २, ६, ७ र ८ मा ५९३ भवन, ६१७ घरधुरी र २ हजार ४७८ जना प्रभावित भएका छन् । सहिद लखन गाउँपालिका–३ र ४ मा १३८ भवन क्षतिग्रस्त क्षेत्रमा पर्दा १४६ घरधुरीका ५५१ जना प्रभावित भएका छन् ।
चितवनको इच्छाकामना गाउँपालिकाका वडा नं. ३, ४, ५ र ६ पनि बाढीबाट प्रभावित भएका छन् । करिडोर तथा बफर क्षेत्रभित्र अनुमानित ७९६ भवन रहेका छन् भने ९१० घरधुरीका ४ हजार ९० जना प्रभावित भएको प्राधिकरणले जनाएको छ ।



