तीजको कोसेली बन्यो कर्णालीको स्याउ

नेपालगञ्ज – कर्णालीमा उत्पादन भएको स्याउ सस्तो, स्वादिलो र सहज रूपमा उपलब्ध हुन थालेपछि यस वर्ष तीजको कोसेलीका रूपमा नेपालगञ्ज र आसपासका घरघरमा पुगेको छ। तीजमा आफन्त तथा साथीभाइको घर जाँदा लैजाने कोसेलीका रूपमा कर्णालीको स्याउ उपभोक्ताको रोजाइमा परेको हो।

नेपालगञ्जस्थित धम्बोझीमा कर्णालीको स्याउ खरिद गरिरहेकी प्रकृति रानाले तीजमा खान तथा आफन्त र साथीभाइलाई कोसेली लैजान कर्णालीको स्याउ उपयुक्त भएको बताए । सिजनको जुम्ली स्याउ स्वादिलो र रसिलो हुने भएकाले नेपालगञ्जबाट बाहिर जाँदा समेत तीजको कोसेलीका रूपमा लैजान सहज भएको उनकाे भनाइ छ।

“विदेशी स्याउको तुलनामा कर्णालीको स्याउ स्वादिष्ट र सस्तो भएकाले यो वर्ष धेरैको रोजाइमा परेको छ,” उनले भने ।

आयातीत भारतीय र चिनियाँ स्याउको तुलनामा सस्तो, स्वादिलो तथा लामो समयसम्म भण्डारण गर्न सकिने भएकाले नेपालगञ्जवासीको आकर्षण कर्णालीको स्याउतर्फ बढेको व्यवसायी बताउँछन्। नेपालगञ्ज उपमहानगरपालिका–१९ का ध्रुव थापाले यस वर्षको तीजमा मात्रै कर्णालीको स्याउ १५ किलो कोसेलीका रूपमा खपत गरेको बताए ।

तीजलाई लक्षित गरेर केही दिनयता नेपालगञ्जको धम्बोझी चोकमा कर्णालीको स्याउको किनबेच बढेको छ। कर्णालीका महिलाले भदौको पहिलो सातादेखि नै चोकमा स्याउ बिक्री गर्दै आएका छन्। जुम्लाको गुठीचौर गाउँपालिका–४ बाट स्याउ ल्याएर बिक्री गरिरहेकी कल्पना शर्माले अन्य समयको तुलनामा तीजमा स्याउको बिक्री उल्लेख्य बढ्ने गरेको बताए ।

फलफूल पसलमा पुग्ने उपभोक्ताले समेत पछिल्लो समय कर्णालीको स्याउलाई प्राथमिकता दिन थालेका छन्। नेपालगञ्जको त्रिवेणी मोडस्थित पुरानो फलफूल पसल महाराजा फ्रुटका सञ्चालक कमल सुनारका अनुसार अहिले कर्णालीको स्याउको माग निकै बढेको छ। पसलमा आउने अधिकांश उपभोक्ताले कर्णालीकै स्याउ खोज्ने गरेको उनले बताए ।

कर्णालीका जिल्लामा उत्पादित स्याउ बजारमा आउन थालेसँगै भारत र चीनबाट आयात हुने स्याउको मागसमेत घटेको व्यवसायीको भनाइ छ। जुम्ला, कालीकोट, हुम्ला र मुगुलगायत जिल्लामा उत्पादन भएको स्याउ ठूलो परिमाणमा नेपालगञ्जका बजारमा भित्रिएको यहाँका थोक बिक्रेता प्रेमलाल साहुले बताए ।

उनका अनुसार अहिले नेपाली स्याउ प्रतिकिलो रु १२० देखि रु १५० सम्ममा बिक्री भइरहेको छ। तुलनात्मक रूपमा सस्तो मूल्यमा स्थानीय उत्पादनको ताजा स्याउ उपलब्ध भएपछि तीजमा आफन्तलाई दिने कोसेलीका रूपमा समेत यसको प्रयोग बढेको छ।

नेपालगञ्ज र आसपासका बजारमा अहिले फलफूल पसलदेखि सडकछेउका अस्थायी बिक्री केन्द्रसम्म कर्णालीको स्याउ देखिन थालेको छ। स्थानीय उत्पादन बजारमा राम्रो मूल्य र मागसहित खपत हुन थालेपछि कर्णालीका किसानलाई समेत राहत मिलेको व्यवसायीहरूको भनाइ छ।