लामीडाँडा बिमानस्थलमा उडान नहुँदा दर्जनौं होटल बन्द

खोटाङ, माघ २० गते । खोटाङको लामीडाँडा बिमानस्थलमा उडान नहुँदा दर्जनौं होटल बन्द भएका छन् । रावाबेँसी गाउँपालिका वडा नम्बर ३ लामीडाँडास्थित विमानस्थलमा २०७३ सालदेखि उडान नहुँदा दर्जनौं होटलमा ताला लागेको हो ।

२०२८ सालदेखि सञ्चालनमा आएको लामीडाँडा बिमानस्थलमा उडान नहुँदा स्थानीय होटल तथा पसल सुनसान बनेको छ । बिमानस्थलका कारण आर्थिक केन्द्रका रुपमा विकास हुँदैगएको लामीडाँडामा हिजोआज ग्राहक पाउन छाडिएको स्थानीय व्यवसायी जगत थापाले बताउनुभयो । दुई चार वटा बाहेक अन्य होटलहरुमा ताला लागेको छ । होटल तथा पसल अगाडि झारपात पलाएको छ । भिडभाड हुने होटल चल्न छाडेपछि अधिकांश व्यवसायी पुरानै पेशा खेतीपातीतिर फर्किएका छन् ।

खोटाङका तीन वटा बिमानस्थलमध्ये लामीडाँडा बिमानस्थल सबैभन्दा पुरानो बिमानस्थल हो । पर्यटकीय सिजनमा लामीडाँडा बिमानस्थलमा एकैदिन हजाइजहाज र हेलीकोप्टर गरी ६० देखि ६८ फ्लाईट हुन्थ्यो । यात्रुको ओहोर–दोहोरले होटल र पसलमा ग्राहक भरिभराउ हुन्थे । फ्लाईट क्यान्सिल हुँदा उत्तिकै मात्रामा यात्रु रोकिन्थे । तर, कच्ची र धुलाम्मे बिमानस्थल हुँदा नियमित उडान भइरहेको बिमानस्थलमा कालोपत्रे गरेपछि भने उडान हुन छाडेको लामीडाँडाका वडासदस्य महेशकुमार श्रेष्ठले बताउनुभयो ।

कालोपत्रे गरिएपछि लामीडाँडामा २०७६ असार ३ गते परिक्षण उडान भरिएको थियो । त्यस यता बिमानस्थललाई परिक्षण उडानमै सिमित राखिएको छ । २०७३ असोज १९ गतेदेखि सुरु गरिएको बिमानस्थल कालोपत्रेको काम २०७५ चैत २८ गते सकिएको थियो । सेड्युल बनाएर उडान नहुँदा र यात्रु नपाउँदा लामीडाँडामा उडान बन्द भएको हो ।