तलब खर्च गरेर नगर उपप्रमुखले बाँडे निःशुल्क घाँसको बिरुवा

खोटाङ, साउन १७ गते । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर उपप्रमुख विशन राईले आफूले पाएको तलब खर्चेर किसानलाई घाँसका बिरुवा निःशुल्क वितरण गर्नुभएको छ ।

पशुपालन व्यवसाय गर्दै आएका किसानलाई प्रोत्साहन गर्दै व्यावसायिक बनाउने उद्देश्यले ११ वडाका पाँच सय २३ किसानलाई उन्नत जातका नेपियर र अम्लिसोको बिरुवा खरिद गरेर निःशुल्क वितरण गरेको नगर उपप्रमुख राईले बताउनुभयो ।

नगर उपप्रमुख राईले वडा नं १ दिक्तेलका १००, वडा नं २ सोल्माका ५०, वडा नं ३ बाम्राङका ५०, वडा नं ४ खाल्लेका ३०, वडा नं ५ लफ्याङका ३०, वडा नं ६ नेर्पाका १००, वडा नं ७ दोर्पाचिउरीडाँडाका ५०, वडा नं ९ निर्मलीडाँडाका ३०, वडा नं १३ नुनथलाका ३०, वडा नं १४ बुइपाका ३० र वडा नंं १५ विजयखर्कका ५० जना किसानलाई नेपियर र अम्लिसो जातका घाँसको बिरुवा निःशुल्क वितरण गर्नुभएको छ ।

वडा नं ८ दोर्पाचिउरीडाँडा र वडा नं ९ निर्मलीडाँडाबाट खरिद गरेर ल्याइएको सुपर नेपियर, स्मार्ट नेपियर, रेड नेपियर र बङ्गाली रेड नेपियर तथा वडा नं ३ बाम्राङबाट खरिद गरिएको अम्लिसो जातको घाँसका बिरुवा निःशुल्क वितरण गरिएको नगर उपप्रमुख राईले जानकारी दिनुभयो ।

पशुपालनलाई व्यावसायिक बनाउन नगरपालिकाबाट यस आवका लागि रु एक करोड बजेटसमेत विनियोजना गरिएको नगर उपप्रमुख राईले बताउनुभयो । “निर्वाहमुखी पशुपालन गर्दै आएका किसानलाई व्यावसायिक बनाउन यो वर्ष भैँसी र बाख्रामा अनुदान दिने योजना बनाएका छौँ । पशुपालनमा लगानी गरेर मासु र दूधजन्य पदार्थमा नगरपालिकालाई आत्मनिर्भर बनाउने हाम्रो उद्देश्य छ”, उहाँले भन्नुभयो, “व्यावसायिक पशुपालनका लागि सम्भाव्यता अध्ययनसँगै किसानसँग भेटघाट गर्दै आफ्नै खर्चमा खरिद गरेर उन्नत जातको घाँसको बिरुवा निःशुल्क वितरण गरेको हुँ । यसले कृषकसमेत उत्साहित भएका छन् ।”

पशुपालन तथा व्यावसायिक कृषिका लागि नगरपालिकाले यस आवमा ब्याज अनुदानस्वरुप किसानलाई रु चार करोड रकम उपलब्ध गराउने गरी पहल थालेको जनाइएको छ । जिल्लास्थित विभिन्न बैंकसँगको सहकार्यमा नगरपालिकाले ब्याज तिरिदिने सर्तसहित नगरपालिका नै जमानी बसेर रकम उपलब्ध गराउने तयारी गरिएको नगर प्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।

पन्ध्र वडा रहेको यस नगरपालिकाले पशु तथा कृषि व्यवसायका लागि पकेट क्षेत्र निर्धारण गर्ने तयारी गरेको छ । ‘एक वडा, एक उत्पादन’ कार्यक्रम बनाएर लागू गर्ने गरी तयारी भइरहेको नगरपालिकाले जनाएको छ ।

कृषि उत्पादनलाई जोड दिने नीति लिएको नगरपालिकाले पशुपालनसँगै फलफूलका बिरुवा वितरण तथा विभिन्न नगदे बालीमा अनुदान दिँदै आएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्रमा रहेको यस नगरपालिकामा अनुदान पाएका कतिपय कृषक व्यावसायिक भएका छन् भने कतिपयले काम नै नगरी अनुदान मात्र लिएको गुनासो आउने गरेको छ ।

दश स्थानीय तह रहेको जिल्लामा कृषकको आम्दानी वृद्धिका लागि सबैले व्यावसायिक कृषि प्रणालीमा जोड दिएका छन् । जिल्लाका कतिपय स्थानीय तहले कृषि उत्पादनलाई आफ्नै क्षेत्रमा प्रशोधन गरेर बजारीकरण गर्नेसम्मको योजना बनाएका छन् ।