काभ्रेपलाञ्चोकमा यात्रुवाहक बस दुर्घटना, आठ जनाको मृत्यु

काठमाडौं – काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुचाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बनेपाबाट रोशी गाउँपालिकातर्फ जाँदै गरेको बा २ ख ८३९८ नम्बरको बस बिहीबार दिउँसो करिब २ः१५ बजे बुचाकोट क्षेत्रमा सडकबाट करिब दुई सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनामा चालकसहित १६ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार घाइतेहरूको उद्धार गरी धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार कार्य सञ्चालन गरिएको थियो।

मृतकहरूको पहिचान तथा दुर्घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।