मनाङ – मनाङमा रहेका हिमतालमा देखिएको जोखिमले मर्स्याङ्दी नदी आसपासका तल्लो तटीय क्षेत्रको सुरक्षाबारे चिन्ता बढाएको छ। हिमताल विस्फोट भएर अचानक ठूलो बाढी आए त्यसको प्रभाव मर्स्याङ्दी नदी हुँदै तल्लो तटीय क्षेत्रमा समेत पर्न सक्ने भएकाले जोखिमको पुनःमूल्याङ्कन, नियमित अनुगमन, पूर्वसूचना र विपद् प्रतिकार्यको तयारी आवश्यक देखिएको हो।
मनाङको नासो गाउँपालिका–२ मा रहेको डोना (थुलागी) हिमताललाई विगतदेखि नै सम्भावित जोखिमयुक्त हिमतालका रूपमा पहिचान गरिएको छ। विभिन्न अध्ययनले तालको क्षेत्रफल करिब ०.९ वर्गकिलोमिटर रहेको देखाएका छन्। सन् २०१७ मा गरिएको सर्वेक्षणअनुसार तालको अधिकतम गहिराइ ७६ मिटर थियो।
तर ती अध्ययन केही वर्ष पुराना भइसकेकाले अहिले तालको क्षेत्रफल, पानीको मात्रा, हिमनदीको अवस्था तथा ताल आसपासको भौगोलिक संरचनामा कस्तो परिवर्तन आएको छ भन्नेबारे पुनः अध्ययन गर्नुपर्ने आवश्यकता देखिएको छ। विगतमा पहिचान गरिएको जोखिम अहिले कुन अवस्थामा पुगेको छ भन्ने स्पष्ट हुन नसक्दा थप अध्ययन र नियमित अनुगमनको आवश्यकता बढेको हो।
नासो गाउँपालिका–२ का वडाध्यक्ष रवि गुरुङले डोना हिमताल जोखिमयुक्त रहे पनि तत्कालै ठूलो दुर्घटना हुने अवस्था नरहेको बताए । उनका अनुसार तालको आकार भने विगतको तुलनामा परिवर्तन हुँदै विस्तार भइरहेको छ।
“ताल जोखिममा छ, अहिलेसम्म केही भएको छैन। आकार पहिलाको भन्दा फरक हुँदै ठूलो भइरहेको छ,” उनले भने ।
तालको जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले पहल गरिरहेको भए पनि त्यसका लागि ठूलो बजेट आवश्यक पर्ने उनले बताए । प्रदेश र सङ्घीय सरकारसँग आवश्यक सहयोगका लागि पहल भइरहेको तथा जोखिमबारे स्थानीय बासिन्दालाई सूचना दिने र सचेत गराउने काम भइरहेको उनकाे भनाइ छ।
मनास्लु हिमालको फेदीमा रहेको डोना ताल प्राकृतिक सौन्दर्यका कारण पर्यटकीय आकर्षणसमेत बनेको छ। वडाध्यक्ष गुरुङका अनुसार विदेशी तथा आन्तरिक गरी वार्षिक करिब २०० जना पर्यटक ताल क्षेत्रमा पुग्ने गरेका छन्। जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान भएको तालमा पर्यटकीय गतिविधि भइरहेकाले पनि सुरक्षा र नियमित अनुगमनलाई थप व्यवस्थित गर्नुपर्ने देखिएको छ।
मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले डोना हिमताल जोखिमयुक्त अवस्थामा रहेको र जोखिम न्यूनीकरणका लागि थप अध्ययन तथा पहल आवश्यक रहेको बताए। तालमा बालुवा तथा माटो थुप्रिँदै जानु चिन्ताको विषय बनेको उनले बताए ।
“ताल तत्काल फुट्छ भन्न सकिँदैन, तर तत्काल फुट्दैन भन्न सकिने अवस्था पनि छैन। जुनसुकै बेला जोखिम हुनसक्छ,” उनले भने ।
उनका अनुसार मनाङमा विपद् प्रतिकार्यको सामान्य तयारी भए पनि ठूलो आयामको हिमताल विस्फोटजन्य बाढी आए त्यसलाई सामना गर्ने जिल्लाको क्षमता सीमित छ। जोखिम न्यूनीकरणका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा अनुरोध गरिएको र जिल्लास्तरीय बैठकबाट समेत आवश्यक पहल गर्ने निर्णय भएको उहाँले जानकारी दिए ।
डोना हिमताल फुटेमा त्यसबाट निस्कने ठूलो बाढीले मनाङका विभिन्न बस्ती हुँदै मर्स्याङ्दी नदीको बहाव क्षेत्रका तल्लो जिल्लासम्म असर पुर्याउन सक्ने प्रजिअ खनालले बताए। बाढीबाट बस्ती, सडक, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुग्न सक्ने भएकाले समयमै सूचना प्रवाह गरी मानवीय क्षति रोक्नुपर्ने उनकाे भनाइ छ।
डोना तालसँग जलविद्युत् आयोजनाको सम्भावना पनि जोडिएको छ। प्रजिअ खनालका अनुसार लालुपाते हाइड्रोपावरले ताल आसपासमा जलविद्युत् आयोजना निर्माणको प्रक्रिया अघि बढाइरहेको छ। आयोजनाले तालको पानी उपयोग गर्ने विषयमा समेत अध्ययन गरिरहेको उनले बताए । हिमतालको जोखिम र त्यससँग जोडिन सक्ने संरचनालाई ध्यानमा राखेर आवश्यक अध्ययन तथा सावधानी अपनाउनुपर्ने उनकाे भनाइ छ।
हिमतालका जानकार सुदन विकास महर्जनले डोना हिमतालको अवस्था पछिल्लो समय बढेको वा घटेको भन्ने कुरा स्थलगत अध्ययन नगरी यकिन गर्न नसकिने बताए। हिमतालको जोखिम विगतदेखि नै रहेको उल्लेख गर्दै उनले यस्ता तालको नियमित अनुगमन आवश्यक रहेको बताए।
उनका अनुसार जोखिमयुक्त हिमतालको प्रत्येक दुई–तीन वर्षको अन्तरालमा स्थलगत अनुगमन गर्नुपर्छ। सरकारले जोखिमयुक्त हिमतालको नियमित निरीक्षण गरी पानीको मात्रा, तालको आकार, हिमनदीको अवस्था तथा सम्भावित बहावको अध्ययन गर्दै जोखिम न्यूनीकरणका उपाय अघि बढाउनुपर्ने उनकाे सुझाव छ।
डोना हिमतालको जोखिमलाई मनाङमा मात्र सीमित गरेर हेर्न नहुने विज्ञ तथा स्थानीय अधिकारीहरूको भनाइ छ। मर्स्याङ्दी नदी मनाङबाट लमजुङ हुँदै गोरखा र तनहुँ पार गरेर त्रिशूली नदीमा मिसिने भएकाले हिमतालबाट उत्पन्न हुन सक्ने ठूलो बाढीको असर नदीको तल्लो तटीय क्षेत्रसम्म पुग्न सक्ने देखिन्छ।
लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले डोना हिमतालका कारण मर्स्याङ्दी नदीमा ठूलो बाढी आएको अवस्थामा जिल्लाको तल्लो तटीय क्षेत्र जोखिममा पर्न सक्ने बताए। उनका अनुसार सुन्दरबजार आसपासका तल्लो भूभाग, बेँसीसहरका केही तल्लो क्षेत्र तथा मर्स्याङ्दी करिडोरमा रहेका जलविद्युत् आयोजनासमेत प्रभावित हुन सक्छन्।
“मनाङ र लमजुङ बढी जोखिममा पर्न सक्ने क्षेत्र हुन्। ताल फुट्छ वा फुट्दैन भनेर अहिले नै निश्चित भन्न सकिने अवस्था छैन,” उनले भने।
ठूलो आयामको विपद् आएमा जिल्लामा उपलब्ध स्रोतसाधनले त्यसलाई सामना गर्न कठिन हुनसक्ने उनले बताए। त्यसैले सम्भावित जोखिमलाई ध्यानमा राखेर पूर्वसूचना प्रवाह तथा मानवीय जीवन जोगाउने विषयलाई प्राथमिकतामा राखेर विपद् तयारी गरिएको उनकाे भनाइ छ।
हिमताल विस्फोटको जोखिम पूर्ण रूपमा रोक्न नसकिए पनि त्यसबाट हुने क्षति भने न्यूनीकरण गर्न सकिने देखिन्छ। त्यसका लागि जोखिमको नियमित पुनःमूल्याङ्कन, स्थलगत अनुगमन, पूर्वसूचना प्रणालीको विकास, सम्भावित बाढीको बहाव क्षेत्र पहिचान तथा स्थानीय तह र सुरक्षा निकायबीच प्रभावकारी समन्वय आवश्यक हुन्छ।
मर्स्याङ्दी नदी आसपासमा ठूलो संख्यामा बस्तीका साथै सडक, पुल, जलविद्युत् आयोजना र अन्य महत्वपूर्ण पूर्वाधार निर्माण भएका छन्। यस्तो अवस्थामा माथिल्लो हिमाली क्षेत्रमा रहेको हिमतालको जोखिमलाई त्यही क्षेत्रको मात्र समस्या मानेर हेर्दा सम्भावित क्षतिको दायरा छुट्न सक्छ।
त्यसैले डोना हिमतालसहित जोखिमयुक्त हिमतालको अवस्था पहिचान र अनुगमनलाई मर्स्याङ्दी नदीको तल्लो तटीय क्षेत्रको विपद् व्यवस्थापन योजनासँग जोड्नुपर्ने देखिएको छ। हिमतालको जोखिमबारे समयमै वैज्ञानिक अध्ययन, नियमित निगरानी र भरपर्दो पूर्वसूचना प्रणाली विकास गर्न सके सम्भावित विपद्बाट हुने मानवीय तथा भौतिक क्षति घटाउन सकिने देखिन्छ।



