गमगढी–नाक्चेलाग्ना सडक : सात वर्षमा १८ किमी

मुगु, साउन २८ गते । उत्तरी सिमाना चीन जोड्ने गमगढी–नाक्चेलाग्ना सडक सात वर्षमा १८ किलोमिटर मात्र बनेको छ । आर्थिक वर्ष २०६२÷६३ मा विस्तृत सर्भे गरी २०७२/७३ सालबाट सो सडक निर्माण सुरुआत गरिएको थियो ।

गमगढी–नाक्चेलाग्ना सडक सरकारको उच्च प्राथकितामा नपरेपछि आवश्यक मात्रामा बजेट विनियोजन नगरिँदा सडक निर्माण कछुवाको गतिमा अघि बढेको हो । मुगु जिल्लाको मात्र नभई सिङ््गो कर्णाली प्रदेशकै ‘लाइफ लाइन’का रूपमा रहेको सो सडक खण्ड ९६ किमीको छ । थोरै मात्रामा बजेट विनियोजित गर्दा वर्षाका समयमा खनिएको सडकमाथिबाट आएको पहिरो पन्छाउन पनि अपुग हुने गरेको बताइएको छ ।

समयमै गमगढी नाक्चेलाग्ना सडक निर्माण हुन नसक्दा कर्णालीवासीको चीनसँग व्यापार गर्ने सपना अधुरै रहेको छ । नेपालका उत्तरी नाकासँग जोडिएका नाकामध्ये सबैभन्दा छोटो नाकाका रूपमा रहेको यस नाक्चेलाग्ना नाका सडक सञ्जालमा जोडिएको खण्डमा मुगुमात्र नभएर सिङ्गो कर्णाली प्रदेशलाई नै फाइदा पुग्ने विश्वास गरिएको छ ।

तत्कालीन जिल्ला विकास समितिमुगका पूर्वसभापति डिल्ली भट्टका अनुसार आफ्नो कार्यकालमा मुगुवासीको मागअनुसार यस सडकलाई उत्तरी नाकामा रहेको देश चीनसँग जोड्नका लागि आव २०६२/६३ मा विस्तृत सर्भेका लागि बोलपत्रमार्फत सर्भे गरेको थियो ।

उक्त सर्भे गर्दा सो सडकको रु २५ करोड लागत अनुमान गरिएको थियो । देश सङ्घीय संरचनामा गइसकेपछि उक्त सडक सङ्घीय सरकारको मातहतमा राखियो । यसले गर्दा केही वर्ष सडक खन्ने काम अघि बढ्न सकेन । पुनः गमगढी–नाक्चेलाग्ना सडकको ढङ्गेधारासम्म ‘डिपिआर’ गरी विसं २०७३ बाट सडक डिभिजन कार्यालय जुम्लाले बोलपत्र आह्वान गरी सडक खन्ने कामलाई अघि बढाएको थियो ।

जिल्ला समन्वय समितिका निर्वतमान संयोजक पूर्णबहादुर रोकाया भन्नुभयो, “गमगढी–नाक्चेलाग्ना सडक त्रिदेशीय अन्तर्राष्ट्रियस्तरको भएर पनि संघीय सरकारले प्राथमिकतामा नराख्नु कर्णाली प्रदेशकै दुर्भाय हो । सदियाँैदेखिको कर्णालीवासीको तिब्वतमा जडीबुडी, ऊन र नुनका साथै भेडा–च्याङ्ग्राको व्यापार विस्तार गर्ने सपना साँघुरिँदै गएको छ ।”

सडक डिभिजन कार्यालय जुम्लाबाट गमगढी–नाक्चेलाग्ना सडकको लागि खटिएका इन्जिनियर वीरबहादुर जिटीले संघीय सरकारले यही तरिकाबाट बजेट छुट्याउने हो भने सडक कहिले निर्माण सम्पन्न हुने हो कुनै टुङ्गो छैन भन्नुभयो । सडकको लागि पर्याप्त मात्रामा बजेटको व्यवस्था गरेको खण्डमा निर्माण चाँडै सम्पन्न गर्न समस्या नरहेको बताउनुभयो ।

गत आव २०७८/७९ रु चार करोड ९३ लाख सडक निर्माणमा खर्च भएको थियो भने आव २०७९/८० मा रु चार करोड ४० लाखमा खर्च भएको बताइएको छ । उहाँले गमगढीबाट मुगुम् कार्मारोङ गाउँपालिका–९ नजिकै रहेको छाइल सुलसुले भिरसम्म साढे १८ किलोमिटर सडक निर्माण पूरा भएकोे जानकारी दिनुभयो । हालसम्म सडक निर्माणका लागि करिब रु २० करोडभन्दा बढी रकम खर्च भइसकेको छ । हाल सडक निर्माणको काम थोदुङ क्याराभान जेभी निर्माण कम्पनीले लिएको छ ।

गैरसरकारी संस्था महासङ्घका केन्द्रीय सदस्य एवं नागरिक अगुवा सन्तोषकुमार मल्ल भन्नुभयो, “ गमगढी–नाक्चेलाग्ना सडक निर्माण सम्पन्न गर्न संघीय सरकारले प्राथमिकतामा राख्नुपर्छ ।यसका लागि जिल्लाका जनप्रतिनिधिले आवाज उठान गर्नुपर्छ । ”