२५ असार, काठमाडौं । रास्वपाको अनुशासन आयोगले निलम्बित महामन्त्री मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्न सिफारिस गरेपछि, मंगलबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले ढकाललाई महामन्त्री, पार्टी प्रवक्ता तथा केन्द्रीय समिति सदस्यबाट समेत पदमुक्त गर्ने निर्णय गरेको हो । ढकाल अब पार्टीमा साधारण सदस्य मात्र रहेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सहप्रवक्ता मनीष झाले जानकारी दिए ।
पार्टीबाट पदमुक्त भएपछि ढकालले प्रतिक्रिया दिँदै ‘रवि लामिछाने क्लबबाट निस्कासनमा परेको’ बताएका छन् । ‘रवि लामिछाने क्लबबाट निस्कासित भएको हुँ, रास्वपाभित्र घण्टी बज्न रोकिँदैन, रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन,’ ढकालले भने ।
नोट: रास्वपाको गत बुधबार बसेको केन्द्रीय समिति बैठकले महामन्त्री मुकुल ढकाललाई एक साता निलम्बन गर्ने निर्णय गरेको थियो । थप कारबाहीको सिफारिस गर्न अनुशासन आयोगलाई पार्टीले निर्देशन दिएको थियो । ढकालले ३९ जिल्लाका नेता तथा कार्यकर्तासँग अन्तर्क्रिया गरी प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाएका थिए । उक्त प्रतिवेदन यसअघि बसेको केन्द्रीय कार्यसमिति बैठकमा सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले पढेर सुनाएका थिए ।



