पद्मकन्या कलेजको छात्रावासमा महानगरको अनुगमन : खाद्य स्वच्छता कमजोर

काठमाडौँ – काठमाडौँ महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त अनुगमनमा पद्मकन्या कलेजको क्यान्टिन तथा छात्रावास भोजनगृहमा खाद्य स्वच्छता गम्भीर रूपमा कमजोर रहेको पाइएको छ। अनुगमन टोलीका फुड टेक्नोलोजिस्ट अनिल बस्नेतका अनुसार कलेज परिसरका भोजनस्थलहरूले आधारभूत स्वच्छता र सुरक्षित खाद्य व्यवस्थापनका मापदण्ड पनि पालन गरेका छैनन्।

कलेज महानगरपालिका–२८, बागबजारमा अवस्थित छ। फुड टेक्नोलोजिस्ट अशोक पराजुलीका अनुसार बागेश्वरी चमेनागृह नामबाट सञ्चालित क्यान्टिनमा सरसफाइ सामान्य देखिए पनि जालीदार टोपी, पञ्जा र एप्रोनको प्रयोग गरिएको थिएन। तयारी खाद्य सामग्री नछोपी खुला राखिएको, फ्राइ गर्ने कराइ अत्यन्त पुरानो रहेको र आगोजन्य जोखिम न्यूनीकरणका उपकरण नरहेको अनुगमन टोलीले जनाएको छ। यस क्यान्टिनले व्यवसाय दर्ता समेत नगरेको पाइएको छ।

अनुगमनका क्रममा म्याद गुज्रिएको ७ सय ग्राम चाउमिन नष्ट गरिएको थियो। कलेजका आवासीय छात्राका लागि सञ्चालनमा रहेको भोजनगृहको अवस्था पनि चिन्ताजनक पाइएको छ। स्टोरमा खाद्यान्न अव्यवस्थित रूपमा राखिएको, भान्सामा धुवाँ निकास गर्ने पंखा बिग्रिएको, खाना पकाउने ठाउँमा कालो फोहोर जमेको र कीट नियन्त्रणका उपाय अपनाइएको नदेखिएको हो।

भोजनगृह पी.के. चमेना गृह एण्ड रेस्टुरेन्टले सञ्चालन गर्दै आएको छ। कलेजमा रहेको वाटर ट्रीटमेन्ट प्लान्टमा पानी नभएको र वरिपरि धुलो–फोहोर जमेको पनि पाइएको छ। यद्यपि छात्राहरूले प्रयोग गर्ने पानीको एमोनिया परीक्षण गर्दा एमोनिया फ्री रहेको खाद्य अनुसन्धान अधिकृत बुद्धबहादुर कुँवरले जानकारी दिनुभयो।

अनुगमनपछि कलेजकी सहायक प्राचार्य विमला नेपालले देखिएका कमजोरीहरू सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।