फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक, चौथो दिन १५६ आए ८३ फर्किए

पोखरा – गत बुधबारदेखि सुरु भएको फ्लाइ दुबईको दुबई–पोखरा–दुबई नियमित उडान चौथो दिनसम्म आइपुग्दा पनि यात्रु सङ्ख्याका हिसाबले उत्साहजनक देखिएको छ। शनिबार साँझ दुबईबाट १५६ यात्रु लिएर पोखरा आएको फ्लाइ दुबईको जहाजले पोखराबाट ८३ यात्रु लिएर दुबई फर्किएको छ।

पोखरा अन्तरराष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतका अनुसार शनिबार साँझ ६ः०५ बजे फ्लाइ दुबईको जहाज पोखरा अवतरण गरेको थियो। पोखराबाट ८३ यात्रु लिएर सोही जहाज साँझ दुबई फर्किएको उनले जानकारी दिए ।

यसअघि बिहीबार दुबईबाट १२२ यात्रु लिएर जहाज पोखरा आएको थियो भने पोखराबाट १४३ यात्रु दुबई गएका थिए। शुक्रबार भने खराब मौसमका कारण पोखरा–दुबई उडान रद्द भएको थियो।

बुधबार भएको पहिलो नियमित उडानमा दुबईबाट ११३ यात्रु पोखरा आएका थिए भने फर्किँदा पोखराबाट १५२ यात्रु दुबई गएका थिए।

सुरुआती उडानमै यात्रु सङ्ख्या उत्साहजनक देखिएपछि पोखराका पर्यटन व्यवसायी तथा सरोकारवाला उत्साहित भएका छन्। पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा–दुबई उडानको सुरुआती अवस्था सकारात्मक रहेको बताए ।

“यात्रुको बुकिङ पनि राम्रो छ, टुर्स एन्ड ट्राभल्स व्यवसायीहरू पनि खुसी हुनुहुन्छ”, उनले भने, “यस उडानबाट आउने यात्रुलाई लक्षित गरी होटल, रेष्टुराँले छुट योजना ल्याएका छन्।”

विमानस्थलका अनुसार फ्लाइ दुबईको जहाज हरेक दिन साँझ ६ः१५ बजे पोखरा अवतरण गर्ने र साँझ ७ः१५ बजे पोखराबाट दुबई प्रस्थान गर्ने तालिका छ। फ्लाइ दुबईले १६५ यात्रु क्षमताको बोइङ ७३७ म्याक्स ८ जहाजमार्फत दुबई–पोखरा–दुबई नियमित उडान सञ्चालन गरिरहेको छ।

पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित व्यावसायिक अन्तरराष्ट्रिय उडान सुरु गर्ने फ्लाइ दुबई पहिलो वायुसेवा कम्पनी बनेको छ। यसअघि केही वायुसेवा कम्पनीले पोखराबाट अन्तरराष्ट्रिय चार्टर उडान भने गरेका थिए।

फ्लाइ दुबईको नियमित उडान सुरु भएपछि दुबईलाई ट्रान्जिट बनाएर विश्वका विभिन्न मुलुकबाट पोखरा आउन सहज हुने अपेक्षा गरिएको छ। यसबाट पोखराको पर्यटनसँगै व्यवसाय, रोजगारी र समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने पर्यटन व्यवसायीहरूको अपेक्षा छ।

सन् २०२३ जनवरीदेखि सञ्चालनमा आएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट यसअघि नियमित अन्तरराष्ट्रिय व्यावसायिक उडान हुन सकेको थिएन। सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय वायुसेवा प्रदायक आकर्षित गर्न कूटनीतिक पहल गर्ने घोषणा गरेको केही समयपछि फ्लाइ दुबईले नियमित उडान सुरु गरेको हो।

दुबई–पोखरा–दुबई नियमित उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले गत जेठ २५ गते फ्लाइ दुबईलाई अनुमति दिएको थियो।

अन्तरराष्ट्रिय वायुसेवा कम्पनीलाई पोखरा विमानस्थलमा आकर्षित गर्न सरकारले विभिन्न शुल्कमा छुटसमेत दिएको छ। विसं २०८५ भदौ मसान्तसम्म विमानस्थलमा लाग्ने पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क पूर्ण रूपमा छुट गरिएको छ भने ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरिएको छ।

नियमित अन्तरराष्ट्रिय उडान सुरु भएपछि लामो समयदेखि पूर्ण क्षमतामा सञ्चालनको प्रतीक्षामा रहेको पोखरा अन्तरराष्ट्रिय विमानस्थलले नयाँ गन्तव्य र यात्रु बजारसँग जोडिने अवसर पाएको छ।