सडक विस्तारमा ठूलो उपलब्धि, तर राष्ट्रिय गौरवका आयोजना सुस्त गतिमा

काठमाडौं – पूर्वाधार क्षेत्रअन्तर्गत सडक पूर्वाधारको अवस्था र सम्बन्धित आयोजनाहरूको प्रगति स्थितिबारे विश्लेषण गरिएको छ। सडक विभागअन्तर्गत विगत १२ वर्षमा देशभर सडक विस्तार र स्तरोन्नतिमा उल्लेखनीय उपलब्धि हासिल भएको देखिएको छ ।

यस अवधिमा ९ हजार ७५ किलोमिटर सडक कालोपत्रे गरिएको छ भने ७ हजार ६ सय ६९ किलोमिटर ग्राभेल सडक निर्माण सम्पन्न भएको छ। त्यस्तै ६ हजार १ सय ८० किलोमिटर नयाँ ट्रयाक खोलिएको छ। सडक पूर्वाधारतर्फ १ हजार ६ सय ८७ पुल निर्माण सम्पन्न भएको तथ्यांकमा उल्लेख छ।

आर्थिक वर्ष २०७०/७१ देखि २०८१/८२ सम्मको अवधिमा सडक निर्माणतर्फको समग्र उपलब्धि तालिका ६.१ मा समेटिएको छ। सो अनुसार कालोपत्रे, ग्राभेल, नयाँ ट्रयाक निर्माण, आवधिक मर्मत तथा पुल निर्माणमा क्रमिक प्रगति भएको देखिन्छ।

त्यस्तै आर्थिक वर्ष २०८२/८३ का लागि तय गरिएको वार्षिक लक्ष्य र पुस मसान्तसम्मको अर्धवार्षिक प्रगतिबीच तुलना गर्दा केही सूचकमा लक्ष्यअनुसार प्रगति देखिए पनि अधिकांश क्षेत्रमा सुधारको आवश्यकता देखिएको छ।

वार्षिक लक्ष्यअनुसार कालोपत्रे सडक निर्माण, ग्राभेल सडक विस्तार, माटे सडक स्तरोन्नति, आवधिक मर्मत तथा पुल निर्माणका कार्यहरू अपेक्षाकृत ढिलाइमा रहेका छन्। विशेषगरी पुल निर्माणतर्फ लक्ष्यको तुलनामा प्रगति न्यून रहेको देखिएको छ।

राष्ट्रिय गौरवका सडक आयोजनाहरूको प्रगति स्थितिमा पनि मिश्रित अवस्था देखिएको छ। मध्यपहाडी (पुष्पलाल) राजमार्गको भौतिक प्रगति ८२.६९ प्रतिशत र वित्तीय प्रगति ८५.२७ प्रतिशत पुगेको छ भने हुलाकी राजमार्गको भौतिक प्रगति ७४.३५ प्रतिशत र वित्तीय प्रगति ७०.२० प्रतिशत रहेको छ।

त्यस्तै उत्तर–दक्षिण लोकमार्गअन्तर्गत कोशी कोरिडोरको भौतिक प्रगति ४६ प्रतिशत र वित्तीय प्रगति ४२.२९ प्रतिशत मात्र रहेको छ। कालीगण्डकी कोरिडोरमा भने भौतिक प्रगति ८२.०५ प्रतिशत र वित्तीय प्रगति ७५.६४ प्रतिशत पुगेको छ।

तर उत्तर–दक्षिण कर्णाली कोरिडोरको प्रगति सबैभन्दा सुस्त देखिएको छ। उक्त आयोजनाको भौतिक प्रगति २०.५० प्रतिशत र वित्तीय प्रगति १४.५६ प्रतिशत मात्र रहेको प्रतिवेदनमा उल्लेख छ।

समग्रमा सडक पूर्वाधार विस्तारमा उल्लेखनीय उपलब्धि भए पनि केही राष्ट्रिय गौरवका आयोजना अपेक्षित गतिमा अघि बढ्न नसक्दा समयमै सम्पन्न हुने विषय चुनौतीपूर्ण बन्दै गएको देखिएको छ।