अन्तरराष्ट्रिय उडानको पर्खाइमा गौतमबुद्ध विमानस्थल

रुपन्देही – राज्यले करिब रु ३५ अर्ब लगानी गरेर निर्माण गरेको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको साढे चार वर्ष पुग्न लाग्दासमेत नियमित अन्तरराष्ट्रिय उडान हुन नसक्दा रुपन्देहीको निजी क्षेत्रमा चिन्ता बढेको छ।

विमानस्थललाई केन्द्रमा राखेर होटल, पर्यटन, यातायात तथा अन्य व्यवसायमा ठूलो लगानी गरेका व्यवसायीले पटकपटक सरकारसँग नियमित अन्तरराष्ट्रिय उडानका लागि पहल गर्न माग गर्दै आएका छन्। तर, ज्ञापनपत्र, छलफल तथा आन्दोलनमार्फत दबाब दिँदासमेत अपेक्षित परिणाम नआएको उनीहरूको गुनासो छ।

पर्यटन व्यवसायी तथा नाट्टा लुम्बिनीका पूर्वअध्यक्ष सागर अधिकारीका अनुसार विमानस्थल सञ्चालन हुने र लुम्बिनीमा पर्यटकको आगमन बढ्ने अपेक्षामा निजी क्षेत्रले राज्यको लगानीभन्दा दोब्बर बढी लगानी गरेको छ। नियमित उडान नहुँदा त्यसबाट अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको उनले बताए ।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यले नयाँ सरकार बनेपछि विमानस्थलबाट कम्तीमा एउटा अन्तरराष्ट्रिय वायुसेवाको नियमित उडान सुरु हुने आशा पलाएको बताए। उनले सरकारले भैरहवा विमानस्थललाई प्राथमिकतामा राखेर पहल गर्नुपर्ने बताए।

विमानस्थलबाट हालसम्म ६९ हजार ३७७ यात्रुले अन्तरराष्ट्रिय सेवा लिएका छन्। यस अवधिमा एक हजार २२२ वटा सेड्युल तथा चार्टर अन्तरराष्ट्रिय उडान भएका छन्। ती उडानबाट ३१ हजार ९३२ यात्रु नेपाल आएका छन् भने ३७ हजार ४४५ यात्रु बाहिरिएका छन्।

पछिल्लोपटक सन् २०२६ मार्च २५ मा थाइ एयर एसियाले बैङ्कक–भैरहवा र भैरहवा–बैङ्कक उडान गरेको थियो। त्यसयता कुनै अन्तरराष्ट्रिय उडान नभएको विमानस्थलका सूचना अधिकारी पवन अग्रहरीले बताए। उनका अनुसार तत्कालका लागि नयाँ अन्तरराष्ट्रिय उडानको सेड्युलसमेत प्राप्त भएको छैन।

यसैबीच पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले सेप्टेम्बर २३ देखि दुबई–पोखरा दैनिक उडान सुरु गरेपछि भैरहवाका व्यवसायीमा पनि गौतमबुद्ध विमानस्थलबाट नियमित उडान सञ्चालन हुने अपेक्षा बढेको छ।

व्यवसायीले अन्तरराष्ट्रिय यात्रुका लागि भिसा सेन्टर, स्वास्थ्य परीक्षण, बिमा, नो अब्जेक्सन लेटर तथा म्यानपावरलगायतका सेवा विमानस्थल आसपासमै सहज बनाउनुपर्ने मागसमेत गर्दै आएका छन्। नियमित अन्तरराष्ट्रिय उडान नहुँदा विमानस्थलको पूर्वाधारसँगै होटल, पर्यटन तथा अन्य क्षेत्रमा गरिएको निजी लगानीसमेत पूर्ण क्षमतामा उपयोग हुन सकेको छैन।

लुम्बिनीको पर्यटन, रोजगारी तथा रुपन्देहीको उद्योग–व्यापार विस्तारसँग जोडिएको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय उडान सुनिश्चित गर्न सरकारले ठोस पहल गर्नुपर्ने व्यवसायीको माग छ।