बागलुङ बाढीपहिरो : ६१ घरगोठ बगे, १२ जनाको मृत्यु

बागलुङ – असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण बागलुङका निसीखोला र तमानखोला बढी प्रभावित भएका छन्। बाढीपहिरोमा परी जिल्लामा १२ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन्।

जिल्ला प्रशासन कार्यालयका अनुसार बाढीपहिरोले ५१ घर र १० गोठ बगाएको छ भने ५१ घरमा आंशिक क्षति पुगेको छ। तीनवटा झोलुङ्गे पुल बगेका छन् भने दुईवटा प्रहरी कार्यालयमा आंशिक क्षति पुगेको छ। दरमखोलाको कटानले गलकोट नगरपालिका–९ को वडा कार्यालयसमेत बगाएको छ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार बाढीपहिरोबाट दुई जलविद्युत् आयोजनामा आंशिक क्षति पुगेको छ। एक विद्यालय, एक रिसोर्ट र एक कृषि फार्ममा समेत क्षति भएको छ। विपद्का कारण २५६ पशुचौपाया र २१५ कुखुरा क्षति भएका छन्।

निसीखोला–४ मा २० कच्ची र दुई पक्की घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ११ घर जोखिममा परेका छन्। तमानखोला–३ धमास्कमा दुई, बडिगाड–९ खाल्लेचौरमा १६ घर पूर्ण र १४ घर आंशिक क्षतिग्रस्त भएका छन्। तमानखोला–४ सन्तरमा आठ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।

यस्तै ढोरपाटन–७ र १२ मा तीन घर पूर्ण र एक घरमा आंशिक क्षति पुगेको छ। गलकोट–१ फैरसोतमा दुई पक्की र तीन कच्ची घर, दुई होटल तथा रिसोर्ट र एक गोठ पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। बागलुङ नगरपालिका–३ र ९ मा दुई घर तथा काठेखोला–१, २, ६ र ७ मा एक घर र चार गोठमा क्षति पुगेको प्रशासनले जनाएको छ।

बाढीपहिरोमा परी ताराखोलाका तीन, निसीखोलाका पाँच र तमानखोलाका चार जनाको मृत्यु भएको छ। तमानखोलाको पहिरोमा एक महिला अझै बेपत्ता रहेको जिल्ला प्रहरी प्रमुख फणिन्द्रप्रसाईंले जानकारी दिए ।

यसैबीच निसीखोला गाउँपालिकाले विपद्बाट प्रभावित परिवारलाई नगद तथा खाद्यान्न राहत उपलब्ध गराएको छ। गाउँपालिकाले मृतकका परिवारलाई प्रतिव्यक्ति रु ५० हजार, पूर्ण जोखिममा रहेका परिवारलाई रु ३० हजार र जोखिममा रहेका परिवारलाई रु १० हजारका दरले आर्थिक सहयोग गरेको छ।

गाउँपालिकाका अनुसार पाँच मृतकका परिवारलाई रु ५० हजारका दरले, पूर्ण क्षति भएका २४ परिवारलाई रु ३० हजारका दरले र आंशिक क्षति भएका २१ परिवारलाई रु १० हजारका दरले राहत दिइएको छ। प्रभावित परिवारलाई चामल र त्रिपालसमेत उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ।