मानसरोवर–कैलास यात्रु बढेपछि रसुवागढी नाकामा चाप

रसुवा – मानसरोवर–कैलास दर्शनका लागि जाने तीर्थयात्रीको संख्या बढेपछि नेपाल–चीन सीमा नाका रसुवागढीमा यात्रुको भीड बढ्न थालेको छ । छोटो, सहज र सुविधाजनक मार्गका रूपमा रसुवागढी नाका प्रयोग गर्ने यात्रुको संख्या पछिल्लो समय उल्लेखनीय रूपमा बढेको हो ।

अध्यागमन कार्यालय रसुवागढीका अनुसार सन् २०२६ को जनवरीदेखि जुन १४ तारिखसम्म रसुवागढी नाकाबाट १७ हजार २४१ जना यात्रु चीनतर्फ प्रस्थान गरेका छन् । चीन जाने यात्रुहरूमा नेपालीसँगै भारत, अमेरिका, रूस, अष्ट्रेलिया, भुटान, संयुक्त अधिराज्य (युके), मलेसिया तथा जर्मनीका नागरिकसमेत रहेका छन्।

अध्यागमन कार्यालयका अनुसार चीन प्रवेश गर्ने अधिकांश यात्रुको मुख्य गन्तव्य मानसरोवर–कैलास क्षेत्र रहेको छ। धार्मिक यात्राका लागि नेपाल हुँदै तिब्बत जाने यात्रुको संख्या वर्षेनी बढ्दै गएको कार्यालयले जनाएको छ।

गत मार्च महिनासम्म रसुवागढी नाकाबाट चीन जाने यात्रुको संख्या ८१२ जना मात्र रहेकोमा अप्रिल १४ सम्म आइपुग्दा बढेर १४ हजार २४० जना पुगेको थियो। जनवरीदेखि जुन १४ सम्म भने यो संख्या बढेर १७ हजार २४१ पुगेको अध्यागमन कार्यालयले जनाएको छ।

हेलिकोप्टर सेवाले थप सहज

मानसरोवर–कैलास यात्राका केही यात्रुले काठमाडौं विमानस्थलदेखि रसुवाको टिमुरेस्थित घट्टेखोला क्षेत्रसम्म हेलिकोप्टर सेवा प्रयोग गर्ने गरेका छन्।

टिमुरे हेलिप्याडका व्यवस्थापक सोनाम वाङ्दी तामाङका अनुसार काठमाडौंबाट बसमार्फत करिब १० घण्टा लाग्ने दूरी हेलिकोप्टरबाट करिब आधा घण्टामै तय गर्न सकिने भएकाले पछिल्लो समय यात्रुहरू हेलिकोप्टरतर्फ आकर्षित भएका छन्।

अध्यागमन सेवामा चाप

यात्रुको संख्या बढेसँगै रसुवागढी अध्यागमन कार्यालयमा सेवा प्रवाहमा चुनौती थपिएको छ। भिसा अनुमति, अभिलेख तथा दर्ता प्रक्रियाका लागि कर्मचारी अभाव हुँदा यात्रुले लामो समय लाइनमा बस्नुपर्ने अवस्था आएको गुनासो बढेको छ।

हाल कार्यालयबाट दुई वटा डेस्कमार्फत मात्र सेवा सञ्चालन भइरहेको छ। कार्यालय प्रमुख यादव भण्डारीले हालको भौतिक संरचनाबाट सेवा विस्तार गर्न कठिन रहेको बताउँदै रसुवागढीमा निर्माणाधीन एकीकृत भन्सार तथा सीमा व्यवस्थापन भवन सम्पन्न भएपछि सेवा थप व्यवस्थित हुने जानकारी दिनुभयो।

राजस्व संकलन पनि बढ्यो

अध्यागमन कार्यालय रसुवागढीका अनुसार जनवरीदेखि जुन १४ सम्म भिसा दर्ता तथा सम्बन्धित सेवा शुल्कबाट ६२ लाख ८० हजार ४२० रुपैयाँ ८६ पैसा राजस्व संकलन भएको छ।

मानसरोवर–कैलास यात्रा हिन्दू, बौद्धलगायत विभिन्न धर्मावलम्बीका लागि महत्वपूर्ण धार्मिक गन्तव्य मानिन्छ। यात्रुको आवागमन बढेसँगै रसुवाको स्याफ्रुबेँसी, टिमुरे र घट्टेखोला क्षेत्रका होटल, यातायात तथा स्थानीय व्यापार–व्यवसायसमेत चलायमान बनेको स्थानीय व्यवसायीहरू बताउँछन्।

सडक पार्किङले समस्या

यसैबीच अध्यागमन कार्यालय नजिक यात्रुहरू भिसा दर्ताका लागि लाइन बस्ने क्षेत्रमा चीनबाट आयात गरिएका विद्युतीय सवारीसाधन (ईभी) लामो समय सडक किनारमै पार्किङ गर्ने गरिएको भन्दै स्थानीयले आपत्ति जनाएका छन्।

स्थानीय बासिन्दाले यात्रु आवतजावत र सेवा प्रवाहमा असर परेको भन्दै सडक किनारको पार्किङ हटाउन ट्राफिक प्रहरीसँग आग्रह गरेका छन्।