जेठ १५ गतेदेखिको आन्दोलन निर्णायक हुनेछ : कमल थापा

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जेठ १५ गतेदेखि हुने आन्दोलन निर्णायक हुने दाबी गरेका छन्।

मंगलबार काठमाडौंमा आयोजित राप्रपा नेपालको केन्द्रीय कार्यसमिति र जिल्ला अध्यक्षहरुको संयुक्त बिस्तारित बैठकमा उनले राष्ट्र व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति एवम सुशासनको माध्यमबाट आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने उद्देश्यका साथ आन्दोलन गर्न लागिएको बताए।

उनले जेठ १५ को आन्दोलनलाई निष्कर्षमा पुर्‍याउनेगरी निर्णायक आन्दोलनका रुपमा अगाडि बढाउन खोजिएको बताएका हुन्।

‘जेठ १५ गतेदेखि हुने आन्दोलनलाई निष्कर्षमा पु¥याउने र निर्णायक आन्दोलनका रुपमा अगाडि बढाउन खोजिरहेका छौं। राष्ट्र व्यवस्था र भ्रष्ट शासकबाट मुक्त हुन, हिन्दु राष्ट्र र राजसंस्थाको पुनस्थापना गर्न र संघीयताको खारेजी तथा सुशासनको माध्यमबाट आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने उद्देश्यका साथ विगत लामो समयदेखि हामी निरन्तर संघर्षमा रहँदै आएका छौं,’ उनले भने, ‘देशका विभिन्न जिल्लाहरुमा र काठमाडौं केन्द्रीत विरोध प्रदर्शन एवम संघर्षका कार्यक्रमहरु सञ्चालन गरिरहेका हौं।’

Shivam Cement

यस्तै, उनले आन्दोलन कुनैपनि दल वा सरकारको विरुद्धमा नभइ देशमा १८ वर्षदेखि कायम रहेको भ्रष्ट व्यवस्था र शासनबाट मुक्तिका लागि भएको पनि बताए।

‘यो आन्दोलन एउटा पार्टीको मात्र आन्दोलन होइन। यसमा आवद्ध भएका ३५ दल र समूहहरुको मात्र आन्दोलन पनि होइन। यसलाई आम जनताको खासगरी राष्ट्रवादी विचारधारा राख्ने जनताको साझा आन्दोलनको रुपमा अघि बढाउने हाम्रो प्रयास हो,’ उनले भने, ‘यसमा आम जनताको सहभागिताका लागि आह्वान गरेका छौं। र काठमाडौं बाहिरबाट पनि धेरै ठूलो संख्यामा जनताको सहभागिता हुने आशा लिएका छौं। आन्दोलन कुनैपनि दलका विरुद्धमा होइन, सरकारको विरुद्धमा पनि होइन। आन्दोलन देशमा १८ वर्षदेखि कायम रहेको भ्रष्ट व्यवस्था र शासनबाट मुक्तिको आन्दोलन हो।’