ऐँसेलुखर्कका दुई वडामा तीन खानेपानी आयोजना सञ्चालन, ३७० घरधुरी लाभान्वित

खोटाङ — ऐँसेलुखर्क गाउँपालिकाका दुई वडामा एकैपटक तीन खानेपानी आयोजना सञ्चालनमा आएपछि ३७० घरधुरी लाभान्वित भएका छन्। गाउँपालिकाको कार्यालय, एक्सन फर नेपाल र उपभोक्ता समितिको त्रिपक्षीय लागत साझेदारीमा निर्माण गरिएका आयोजनामार्फत घर तथा सार्वजनिक स्थानमा ३७२ वटा धारा निर्माण गरी खानेपानी वितरण सुरु गरिएको हो।

गाउँपालिकाको वडा नं. २ बाकाचोलमा लुबेरा–बादेल खानेपानी आयोजना र झाँक्रीबास खानेपानी आयोजना तथा वडा नं. ७ माक्पामा रोलुखोला नेरुङ खानेपानी आयोजना सञ्चालनमा आएका हुन्।

गाउँपालिकाका प्रवक्ता एवं वडा नं. ३ का वडाध्यक्ष टेककेन्द्र राजभण्डारीका अनुसार तीनवटै आयोजना तोकिएको समयभन्दा अगावै सम्पन्न भएका हुन्। आयोजनाबाट घरघरमा निर्माण गरिएका धारामार्फत पर्याप्त स्वच्छ खानेपानी उपलब्ध हुन थालेको उनले बताए ।

“तीनवटै खानेपानी आयोजना तोकिएको समयभन्दा अगावै सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ। सबै घरमा निर्माण गरिएका धाराबाट पर्याप्त स्वच्छ खानेपानी उपलब्ध भएको छ,” उनले भने ।

त्रिपक्षीय लागत साझेदारीमा सञ्चालित आयोजनालाई दीगो र प्रभावकारी बनाउन अनुगमन तथा मर्मत समिति गठन गरिएको छ। खानेपानी आपूर्ति अवरुद्ध भए तत्काल मर्मत गरी सञ्चालनमा ल्याउन हेरालुसमेत नियुक्त गरिएको गाउँपालिकाले जनाएको छ।

लुबेरा–बादेलमा २०४ धारा

बाकाचोलको लुबेरा–बादेल खानेपानी आयोजना रु एक करोड ३६ लाख ८४ हजार ७८५ लागतमा निर्माण सम्पन्न भएको हो। आयोजनामार्फत २०४ वटा धारा निर्माण गरिएको छ।

गत असार १६ गते सम्पन्न उक्त आयोजनाका लागि उपभोक्ता समितिले रु १३ लाख ६८ हजार ४७८ बराबरको श्रमदान गरेको जनाएको छ।

त्यस्तै, माक्पाको रोलुखोला नेरुङ खानेपानी आयोजना रु ४२ लाख ७२ हजार ९५८ लागतमा निर्माण सम्पन्न भएको छ। उक्त आयोजनाबाट ४४ घरधुरी तथा सार्वजनिक स्थानमा दुईवटा धारा निर्माण गरिएको छ। आयोजना गत जेठ ६ गतेदेखि सञ्चालनमा आएको गाउँपालिकाले जनाएको छ।

झाँक्रीबासमा सात किलोमिटर टाढाबाट पानी

लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका बाकाचोलको झाँक्रीबासवासीका लागि नयाँ आयोजना सञ्चालनमा आएपछि राहत मिलेको छ। आयोजनामार्फत झाँक्रीबासमा १२२ वटा धारा निर्माण गरिएको छ।

करिब सात किलोमिटर टाढाको मुहानबाट पाइपमार्फत पानी ल्याएर बस्तीमा वितरण गरिएको हो। उक्त खानेपानी आयोजनाको गत जेठ १२ गते औपचारिक उद्घाटन गरिएको थियो।

खानेपानी आयोजनाअघि स्थानीयवासी कुवा तथा खोलाको पानीमा निर्भर रहँदै आएका थिए। अहिले घरघरमै धारा निर्माण भएर स्वच्छ खानेपानी उपलब्ध हुन थालेपछि स्थानीय बासिन्दा खुसी भएका छन्।

‘एक घर, एक धारा’मा जोड

ऐँसेलुखर्क गाउँपालिकाका अध्यक्ष गीरेन्द्रबहादुर राईले आगामी वर्ष गाउँपालिकाका सबै घरधुरीमा स्वच्छ खानेपानी पुर्‍याउने गरी बजेटको व्यवस्था गरिएको जानकारी दिए ।

“सरकारको नीतिअनुसार गाउँपालिकामा ‘एक घर, एक धारा’ कार्यक्रम सञ्चालन गरिरहेका छौँ। निर्वाचित भएर आएपछि करिब ५० प्रतिशत घरधुरीमा यो सेवा पुर्‍याइसकेका छौँ,” उनले भने ।

गाउँपालिकामा कुल ३ हजार ३५५ घरधुरी रहेको उल्लेख गर्दै अध्यक्ष राईले बाँकी सबै घरधुरीमा स्वच्छ खानेपानी पुर्‍याउने योजना बनाएर बजेट विनियोजन गरिएको बताए ।

यसअघि बाकाचोलमा कादुरीले सञ्चालन गरेको खानेपानी आयोजना जीर्ण भएपछि नयाँ आयोजना निर्माण गरिएको गाउँपालिकाले जनाएको छ।

गत मङ्सिरमा भएको थियो त्रिपक्षीय सम्झौता

दुई वडामा एकैपटक तीनवटा खानेपानी आयोजना सञ्चालन गर्ने विषयमा विसं २०८२ मङ्सिर २७ गते गाउँपालिका, एक्सन फर नेपाल र उपभोक्ता समितिबीच त्रिपक्षीय सम्झौता भएको थियो।

सम्झौतामा गाउँपालिकाका तर्फबाट अध्यक्ष राई र प्रमुख प्रशासकीय अधिकृत रेखबहादुर थापा, एक्सन फर नेपालका तर्फबाट कार्यकारी प्रमुख लाक्पाछिरिङ शेर्पा र लेखा संयोजक अजिला लिम्बू तथा उपभोक्ता समितिका तर्फबाट सम्बन्धित वडाका वडाध्यक्षले हस्ताक्षर गरेका थिए ।

समयमै आयोजना सम्पन्न भई सञ्चालनमा आएपछि ऐँसेलुखर्कका दुर्गम बस्तीमा स्वच्छ खानेपानीको पहुँच विस्तार हुनुका साथै गाउँपालिकाको ‘एक घर, एक धारा’ अभियानले समेत गति लिएको छ।