बागलुङ – आफ्नै कार्यकालमा ठडिएको वडा कार्यालय भवन दरमखोलाको बाढीले बगाएपछि गलकोट नगरपालिका–९ का वडाध्यक्ष तेजबहादुर थापाको मन थामिएको छैन। बुधबार साँझ क्षतिग्रस्त भवनछेउ भेटिएका उनी चिन्तित देखिन्थे । बाढीले आफ्नो दस मुरी धान फल्ने खेतसमेत बगरमा परिणत गरिदिए पनि निजी सम्पत्तिको क्षतिभन्दा वडाको भवन गुमाउनुको पीडा उनकाे लागि ठूलो छ।
दरमखोलाको किनारमा ढलेको भवनतिर हेर्दै वडाध्यक्ष थापाले भने, “मलाई मेरो दस मुरी धान फल्ने खेत बगेर केही फरक परेको छैन, त्यहाँ अहिले खोला हिँडेको छ, तर यो वडा भवनसँगै मेरो इतिहास पनि मेटिएकामा सारै दुःख लागेको छ।”
वडाध्यक्ष थापाको बाह्रमुरीमा रहेको धानखेत पनि गत आइतबारको बाढीले बगरमा परिणत गरेको छ। तर उहाँको चिन्ता खेतभन्दा बढी आफू निर्वाचित भएपछि स्थानीयवासीको पहल र नगरपालिकाको बजेटबाट निर्माण गरिएको वडा कार्यालय भवनप्रति छ।
उनका अनुसार स्थानीयवासीले वडाको ‘गहना’का रूपमा लिएको भवन बाढीमा बगेपछि गाउँ नै दुःखी भएको छ। कार्यालयका अभिलेखसहित केही महत्वपूर्ण सामग्री र उपकरण भने समयमै निकाल्न सकिए पनि सबैको प्रयासबाट निर्माण भएको सरकारी भवन नै नष्ट हुँदा उनलाई ठूलो पीडा भएको छ।
“अहिले पनि म राम्रोसँग निदाउन सकेको छैन, अझै पनि ढलेको भवनभित्रबाट केही सामान झिक्न सकिन्छ कि भनेर यहाँ आइरहन्छु, मेरो मन–आत्मा त्यहीँ भवनमा छ,” उनले भने।
विसं २०७४ को स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएपछि थापासहित स्थानीयवासीको विशेष पहलमा वडा कार्यालय भवन निर्माण भएको थियो। भवनका लागि नगरपालिकाले रु. ८० लाख बजेट उपलब्ध गराएको थियो। दोस्रो पटक पनि वडाध्यक्षमा निर्वाचित भएपछि थापाले कार्यालयलाई थप सुविधायुक्त बनाउन आवश्यक स्रोतसाधन जुटाउन पहल गरेका थिए ।
स्थानीयको सहयोगमा तीन रोपनी जग्गा खरिद गरी निर्माण गरिएको चिटिक्कको भवन बाढीको कटानसँगै छिनभरमै ढलेपछि आफूलाई सम्हाल्न कठिन भएको थापाले बताए। भवनसँगै करिब रु. १५ लाख खर्च गरेर जडान गरिएको सौर्य ऊर्जा प्रणालीमा समेत क्षति पुगेको छ।
दरमखोलाले भवन रहेको जमिनतर्फ निरन्तर कटान गर्न थालेपछि जोखिम बढ्दै गएको थियो। त्यसपछि स्थानीयवासी मिलेर कार्यालयभित्र रहेका कम्प्युटर, ल्यापटपलगायत केही महत्वपूर्ण सामग्री बाहिर निकाल्न सफल भएका थिए। तर भवनलाई भने जोगाउन सकेनन्।
दरमखोलाको बहावले जमिन छिचोल्दै गएपछि आइतबार साँझ करिब ४ बजेतिर वडा कार्यालय भवन खोला किनारतर्फ ढलेको हो। भवन जगैदेखि ढले पनि माथिल्लो संरचनामा भने ठूलो क्षति नपुगेको स्थानीयवासी हुमलाल ढकालले बताए ।
“भवनको संरचना बलियो रहेछ, जगबाटै पल्टँदा पनि भवनको झ्यालको सिसासमेत फुटेको छैन,” उनले भने, “खोलाको कटानले जग खल्बलिएर ढलेको भए पनि भवन सग्लै छ।”
बाढीले वडा कार्यालय नजिकै रहेको ढकालको घरसमेत जोखिममा पारेको छ। पानी पर्न थालेपछि घर छाडेर हिँड्नुपर्ने अवस्था आएको उनले बताए ।
“पानी पर्यो भने घर छाडेर हिँड्नुपर्ने अवस्था छ,” ढकालले भने, “बाढी प्रभावितको राहत र पुनःनिर्माणमा सरकारले ध्यान दिओस् भन्ने हाम्रो माग छ।”
बाढीले गलकोट–९ का केही घरगोठसमेत बगाएको छ। ठूलो क्षेत्रफलको धानखेतमा समेत क्षति पुगेको छ। बाह्रमुखी, टिमुरबोटलगायत फाँटमा पाक्नै लागेको धानसहित खेत बाढीले उजाडेपछि किसान थप पीडामा परेका छन्।
गलकोट नगरपालिकाले बाढीपहिरोबाट भएको क्षतिको यकिन विवरण सङ्कलन गरिरहेको जनाएको छ। प्रारम्भिक विवरणअनुसार नगर क्षेत्रभित्र बाढीपहिरोका कारण २२ घरगोठमा क्षति पुगेको छ। ‘रिसोर्ट’लगायत व्यावसायिक संरचनामा समेत क्षति पुगेको नगरपालिकाले जनाएको छ।
नगर प्रमुख भरत शर्मा गैरेका अनुसार बाढीका कारण सरकारी तथा निजी क्षेत्रको करोडौँ रुपैयाँ बराबरको भौतिक सम्पत्तिमा क्षति पुगेको छ। मानवीय क्षति नभए पनि ठूलो भौतिक क्षति भएकाले प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने र पुनःनिर्माणका लागि योजनाबद्ध रूपमा काम गर्ने उनले बताए ।
“बाढीका कारण गलकोटमा मानवीय क्षति नभए पनि ठूलो भौतिक क्षति भएको छ,” उनले भने, “बाढीपहिरो प्रभावित परिवारका लागि तत्काल राहतसँगै पुनःनिर्माणका काममा योजना बनाएर काम गर्छौँ।”
यही असोज ८ देखि ११ गतेसम्म परेको भारी वर्षापछि आएको बाढीपहिरोले गलकोटसहित बागलुङका अधिकांश स्थानीय तह प्रभावित भएका छन्। जिल्लामा पहिरोमा परी १३ जनाको ज्यान गएको छ भने ठूलो मात्रामा निजी तथा सार्वजनिक भौतिक संरचनामा क्षति पुगेको छ।



