कञ्चनपुर – महाकाली नदीमा डुङ्गा चलाएर स्थानीयलाई वारिपारि गराउनेदेखि दोधारा चाँदनीलाई देशको मूलधारसँग जोड्ने ऐतिहासिक झोलुङ्गे पुल बनेको साक्षी हुनुहुन्छ, ७७ वर्षीय भीमबहादुर सिंह । तर बुधबार महाकाली किनारमा पुग्दा उहाँले वर्षौंदेखि दोधारा चाँदनीको पहिचान बनेको पुलको एउटा पिलर भत्किएर आवागमन ठप्प भएको दृश्य देख्नुपर्यो । पुलको यो अवस्था देख्दा उहाँको मन मात्रै अमिलो भएन, आँखासमेत रसाए ।
दोधारा चाँदनी नगरपालिका–४ का पूर्ववडा सदस्य सिंहले विसं २०३५ देखि लगातार २० वर्षसम्म महाकाली नदीमा डुङ्गा चलाउनुभएको थियो । विसं २०६० सम्म स्थानीयलाई नदी तार्ने काममा सक्रिय उहाँ झोलुङ्गे पुल बनेपछि व्यापारतर्फ लागे । कुनै बेला भारतीय बाटो वा डुङ्गाको सहारामा नदी वारपार गर्नुपर्ने बाध्यता भोगेको दोधारा चाँदनीमा पुल बनेपछि आवागमन सहज भएको थियो । त्यही पुल अहिले भत्किएपछि उहाँजस्तै धेरै स्थानीयवासी निराश बनेका छन् ।
“ऐतिहासिक झोलुङ्गे पुलको यो अवस्था देख्दा आँखा नै रसाए”, सिंहले भने, “यो देश–विदेशमा दोधारा चाँदनीलाई चिनाउने पुल थियो । हामीले एउटा चिनारी गुमायौँ ।”
बुधबार बिहान महाकाली नदीमा ठूलो बाढी नआएको अवस्थामा पनि पुलका आठवटा पिलरमध्ये दोधारा चाँदनीतर्फको तेस्रो पिलर भत्किएपछि आवागमन रोकिएको थियो । पुलमा भएको क्षतिले स्थानीयको दैनिक आवतजावतमा मात्रै असर पारेको छैन, पर्यटकीय गतिविधि र आसपासका व्यवसायसमेत प्रभावित भएका छन् ।
दसैँ–तिहारजस्ता प्रमुख चाडपर्व नजिकिएका बेला पुल भत्किएकाले पर्यटकको आगमन घट्ने चिन्ता स्थानीयमा छ । पुल पुनःनिर्माणमा ढिलाइ गर्न नहुने बताउँदै सिंहले पर्यटकको अवलोकनदेखि पुल आसपासका व्यवसायसम्म यसबाट प्रभावित हुने उल्लेख गरे ।
“पुल भत्किएपछि आवतजावत मात्रै होइन, पर्यटकलाई अवलोकन गर्नेदेखि वरपरका व्यवसायी यसको मारमा परेका छन्”, उनले भने, “दसैँ–तिहारको मुखमा पुल भत्किएको छ, यहाँ अवलोकनका लागि आउने पर्यटक यसपालि नआउने भए ।”
डुङ्गाको बाध्यता अन्त्य गरेको पुल
भारतसँग सीमा जोडिएको दोधारा चाँदनीमा विसं २०२२ सालतिर बस्ती विस्तार भएको थियो । कुनै समय भौगोलिक रूपमा विकट मानिने यो क्षेत्रका बासिन्दालाई महाकाली नदीपारि रहेको भूभागबाट सदरमुकाम भीमदत्तनगर र जिल्लाका अन्य स्थानमा पुग्न कठिन थियो । स्थानीयले भारतीय बाटो हुँदै बनवासा पुल प्रयोग गर्नुपर्ने वा महाकाली नदीमा डुङ्गा चढेर वारपार गर्नुपर्ने बाध्यता थियो ।
विसं २०५८ मा महाकाली नदीमा झोलुङ्गे पुल निर्माणको प्रक्रिया अघि बढेपछि बनेको पुलले दोधारा चाँदनीको आवागमनमा ठूलो परिवर्तन ल्यायो । पुल बनेपछि भारतीय बाटोको भर पर्नुपर्ने र महाकालीमा डुङ्गाबाट नदी तर्नुपर्ने बाध्यता अन्त्य भएको सिंह बताउछन् ।
“विसं २०३५ देखि लगातार २० वर्ष महाकालीमा डुङ्गा चलाएँ । अहिलेको जस्तो यहाँ विकास हुने हामीले कल्पनासमेत गरेका थिएनौँ”, सिंहले विगत सम्झँदै भन्नुभयो, “कुनै बेला दोधारा चाँदनीलाई देशको मूलधारसित जोड्ने झोलुङ्गे पुल भत्किँदा मन अमिलो भएको छ । दोधारा चाँदनीको भावना नदीले बगाइदिएको जस्तो आभास भएको छ ।”
झोलुङ्गे पुल निर्माणपछि दोधारा चाँदनीको परिचय क्रमशः विकास र पर्यटनसँग जोडिँदै गएको थियो । महाकाली नदीमा चार लेनको पक्की पुल, पहुँचमार्ग तथा सुक्खा बन्दरगाह निर्माणको काम अघि बढेसँगै यस क्षेत्रको आर्थिक गतिविधि विस्तार हुने अपेक्षा गरिएको छ । तर आधुनिक पूर्वाधार विकासको चरणमा पुगेको दोधारा चाँदनीका बासिन्दाका लागि पुरानो झोलुङ्गे पुलको महत्त्व अझै विशेष छ ।
स्थानीय टिका भट्टका अनुसार चार लेनको पक्की पुलले आवागमनको वैकल्पिक सुविधा दिए पनि झोलुङ्गे पुलसँग दोधारा चाँदनीवासीको भावनात्मक सम्बन्ध जोडिएको छ । उहाँले झोलुङ्गे पुललाई भीमदत्त र दोधारा चाँदनी नगरपालिका जोड्ने संरचनाका रूपमा मात्र नभई सुदूरपश्चिमकै पर्यटकीय धरोहरका रूपमा व्याख्या गरे ।
“यो भीमदत्त र दोधारा चाँदनी नगरपालिका जोड्ने पुल मात्रै होइन, यो सुदूरपश्चिमकै पर्यटकीय धरोहर हो । यसको पुनर्निर्माण चाँडाभन्दा चाँडो हुनुपर्छ”, भट्टले भने । उनका अनुसार महाकाली नदीको झोलुङ्गे पुल नै दोधारा चाँदनीलाई देशको मूलधारसँग जोड्ने पहिलो सेतु थियो ।
पुनर्निर्माणमा ढिलाइ नगर्न माग
झोलुङ्गे पुल भत्किएपछि अनुगमनका लागि पुलस्थल पुग्नुभएका सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलले यसको पुनर्निर्माण चाँडो गर्नुपर्नेमा जोड दिए । पुलको क्षतिले दोधारा चाँदनीलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा चिनाउने अवसर प्रभावित हुन सक्ने उनकाे भनाइ छ ।
मन्त्री रावलका अनुसार पुलको सौन्दर्यकरणका लागि विद्युत् बत्ती जडान गर्न बजेटको व्यवस्था गर्ने गृहकार्य भइरहेका बेला पुलमा क्षति पुगेको हो ।
“मैले वन मन्त्रालयबाट पुलको सौन्दर्यकरणका लागि बिजुली जडान गर्न बजेटका लागि गृहकार्य गरिरहेकै बेला पुलमा क्षति पुग्यो”, उनले भने, “यो धरोहरलाई जीवन्त राख्न सबैले सहकार्य गरेर अगाडि बढ्नुपर्छ ।”
पूर्वसांसद रमेश लेखकले पनि ऐतिहासिक धरोहरका रूपमा विकसित झोलुङ्गे पुलको पुनर्निर्माणमा ढिलाइ गर्न नहुने बताएका छन् । सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले तत्कालीन अवस्थामा यातायात सम्पर्क र जनजीवन कठिन रहेको दोधारा चाँदनीलाई देशको अन्य भूभागसँग प्रत्यक्ष जोड्ने काम यही पुलले गरेको उल्लेख गर्नुभएको छ । उनका अनुसार यो दोधारा चाँदनी र कञ्चनपुरको मात्रै नभई देशकै ऐतिहासिक पुल हो ।
भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष रामबहादुर बोहराले भने २२ वर्षअघि निर्माण भएको पुलको मर्मतसम्भारमा राज्यको पर्याप्त ध्यान नपुगेको बताए । महाकालीमा पानीको बहाव प्रतिसेकेन्ड पाँच लाख क्युसेक पुग्दासमेत क्षति नभएको पुल एकाएक भत्किएपछि यसको प्राविधिक अवस्था र मर्मतसम्भारबारे प्रश्न उठेको उहाँको भनाइ छ ।
“महाकालीमा पानीको बहाव पाँच लाख क्युसेक पुग्दासमेत केही नभएको पुल एकाएक भत्किएर आवागमन प्रभावित भयो”, बोहराले भने, “पुलको प्राविधिक जाँचपछि पुनर्निर्माणमा ढिलाइ गर्नुहुँदैन ।”
वडाध्यक्ष बोहराका अनुसार पुल दोधारा चाँदनीको पहिचान र पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुनुका साथै स्थानीयको रोजगारीसँग पनि जोडिएको थियो । कञ्चनपुर आउने पर्यटक पुलको अवलोकन नगरी फर्कन नचाहने गरेको उनकाे भनाइ छ ।
“दोधारा चाँदनीदेखि पुलवरपरका बस्तीको पहिचान नै झोलुङ्गे पुल बनिसकेको थियो । कञ्चनपुर आउने पर्यटक यहाँ नपुगी फर्कंदैनथे”, बोहराले भने, “पुल यहाँको पहिचान हो । यसको जीर्णोद्धारमा सबै तहका सरकारले गम्भीरता देखाउनुपर्छ ।”
स्थानीयवासीका लागि महाकालीको झोलुङ्गे पुल भौतिक संरचना मात्रै होइन, विगतको कठिन जीवन, सहज बनेको आवागमन र दोधारा चाँदनीको विकास यात्रासँग जोडिएको साझा स्मृति पनि हो । त्यसैले पुल भत्किनुको पीडा आवागमन अवरुद्ध हुनुमा मात्रै सीमित छैन । यसको पुनर्निर्माण र संरक्षणमार्फत ऐतिहासिक पहिचानलाई पुनर्जीवित गर्नुपर्ने माग अहिले स्थानीयस्तरमा उठिरहेको छ ।



