नागढुंगा सुरुङमा नियम मिच्ने २८४ चालक कारबाहीमा

काठमाडौं – नागढुंगा सुरुङ मार्गमा ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउने २८४ जना चालक कारबाहीमा परेका छन् । सुरुङभित्र लेन अनुशासन पालना नगर्ने, तीव्र गतिमा सवारी चलाउने, जथाभाबी ओभरटेक गर्ने, अनावश्यक हर्न बजाउने तथा बाटो अवरोध गर्ने चालकलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार सुरुङ मार्ग सञ्चालनमा आएदेखि हालसम्म नियम उल्लंघन गर्ने चालकलाई कारबाहीको दायरामा ल्याइएको हो । सुरुङभित्र सवारी चलाउँदा निर्धारित गति र लेन अनुशासन पालना गराउन प्रहरीले निगरानी गर्दै आएको उनले बताए ।

सुरुङ मार्गभित्र सवारीसाधन प्रतिघण्टा अधिकतम ४० किलोमिटरको गतिमा चलाउन पाइने व्यवस्था छ । यससम्बन्धी जानकारी दिने सूचना बोर्डसमेत राखिएको छ । निर्धारित गतिभन्दा तीव्र गतिमा सवारी चलाउने चालकलाई नियमअनुसार कारबाही गरिने प्रवक्ता सुवेदीले बताए ।

सुरुङभित्र सवारी चलाउँदा सामान्य सडकको तुलनामा थप सावधानी अपनाउनुपर्ने भएकाले ट्राफिक प्रहरीले चालकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । लेन अनुशासन कायम गर्न, तोकिएको गतिमा सवारी चलाउन, अनावश्यक हर्न नबजाउन र ओभरटेक गर्दा विशेष सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ ।

बिहीबार मात्रै सुरुङ मार्गमा ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउने १३ जना चालक कारबाहीमा परेका छन् । सुरुङभित्र हुने सम्भावित दुर्घटना न्यूनीकरण गर्न तथा सुरक्षित आवागमन सुनिश्चित गर्न नियम पालना गर्न प्रहरीले चालकलाई सचेत गराएको छ ।