काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले संसदीय प्रक्रियाको ढिलाइले नागरिकका समस्या समाधान हुन नसकेको भन्दै अध्यादेशमार्फत काम अघि बढाउन सरकारलाई आग्रह गरेका छन् ।
बर्खे अधिवेशनको अन्तिम दिन प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै कार्कीले आफ्नो निर्वाचन क्षेत्र मोरङ–३ सहित देशभरका नागरिकका समस्या समाधानका लागि संसदीय प्रक्रियामा सुधार आवश्यक रहेको बताएका हुन् । संसद्को नियमित प्रक्रियाबाट स्थानीय समस्या छिटो समाधान हुन नसकेको उनको भनाइ थियो ।
कार्कीले मोरङ–३ का मतदाताले जग्गासम्बन्धी समस्या, अस्तव्यस्त विकास, नयाँ योजनाका लागि बजेट, पूर्वाञ्चल विश्वविद्यालय र शिक्षण अस्पताललगायतका विषय समाधान गर्न आफूलाई संसद्मा पठाएको बताए ।
‘मोरङ ३ ले मलाई केही एजेन्डा दिएर संसद्मा पठाएको हो । यसमा जग्गाको समस्या सबैभन्दा माथि छ । त्यसपछि असरल्ल विकास र नयाँका लागि बजेट छ । पूर्वाञ्चल विश्वविद्यालय र शिक्षण अस्पताल छ,’ उनले भने, ‘समाधान पर्खिएका हाम्रा स्थानीय समस्याहरू छन् ।’
उनले शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद र संस्कृतिसँग सम्बन्धित समस्या देशभर रहेको उल्लेख गर्दै ती समस्या समाधान गर्न संसदीय प्रक्रियाले अपेक्षित गति दिन नसकेको बताए ।
‘हाम्रो संसदीय प्रक्रियाको सुधार अत्यावश्यक छ । दुःखका साथ भन्छु कि संसद्को नियमित प्रक्रिया मेरो क्षेत्रको भूमिको समस्यालाई छिटो समाधान दिन सक्ने गरी निर्माण भएकै छैन,’ कार्कीले भने, ‘हाम्रो संसदीय व्यवस्थाले त्यसलाई अध्यादेशभन्दा अर्को बाटो रोजेकै छैन, राखेकै छैन । अब अध्यादेशमार्फत काम अगाडि बढाउनुपर्छ । सरकारको ध्यानाकर्षण गराउँछु ।’
उनले प्रक्रियागत जटिलताका कारण नागरिकले दुःख पाउन नहुनेमा जोड दिँदै आगामी अधिवेशन सुरु हुँदासम्म आफ्नो निर्वाचन क्षेत्रका समस्या समाधानको बाटोमा अघि बढ्ने आशा व्यक्त गरे ।
‘प्रक्रियाको जडताले नागरिकलाई दुःख दिनु हुँदैन । आशा छ अध्यादेश आएर अर्को अधिवेशन खुल्दा मेरो क्षेत्रको समस्याले समाधानको बाटो भेट्दछ,’ उनले भने ।
सङ्घीय संसद्को चालू अधिवेशन २०८३ वैशाख २८ गते सुरु भएको थियो । यस अवधिमा सरकारले प्रस्तुत गरेको बजेट तथा बजेटसँग सम्बन्धित कानुन निर्माण भएका छन् । संसद् अधिवेशन नरहेका बेला जारी गरिएका अध्यादेश स्वीकृत भएपछि तिनले संशोधन गरेका विषय समेटेर प्रतिस्थापन विधेयक ल्याई पारित गर्ने प्रक्रिया पनि अघि बढेको थियो ।
चालू अधिवेशनमा मन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर तथा समसामयिक विषयमा सरकारका तर्फबाट मन्त्रीहरूको सम्बोधनलगायतका काम भएका थिए ।
मन्त्रिपरिषद्को गत मंगलबारको बैठकले अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरी राष्ट्रपति कार्यालयमा पत्र पठाएको थियो । सोही सिफारिसअनुसार राष्ट्रपतिबाट सङ्घीय संसद्को चालू अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गरिएको छ ।



