काठमाडौँ — काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले स्रोतमा फोहर वर्गीकरण, वर्गीकृत फोहरको छुट्टाछुट्टै संकलन, ढुवानी र अन्तिम व्यवस्थापनका क्रममा अपनाइएका असल अभ्यासलाई निरन्तरता दिन र हालसम्म प्राप्त उपलब्धिमा ह्रास आउन नदिने गरी कार्य सञ्चालन गर्न वातावरण व्यवस्थापन विभागका अधिकारीहरुलाई निर्देशन दिएका छन् ।
वातावरण व्यवस्थापन विभागले अहिलेसम्म गरेका कामको नतिजाबारे जानकारी लिने क्रममा विभागका अधिकारीहरुसँग भएको छलफलमा कार्यवाहक प्रमुख डंगोलले नीतिगत र संरचनागत सुधार आवश्यक परे महानगरपालिका तर्फबाट सहजीकरण गरिने स्पष्ट गरिन् । उनले सहरी स्वच्छता, सरसफाइ तथा वातावरणीय सुधारका लागि परिचालन गरिएको जनशक्ति, साधन र उपकरणको क्षमतामा कुनै कमी आउन नहुनेमा जोड दिए ।
कार्यवाहक प्रमुख डंगोलले नीति, प्रविधि, समन्वय, सहकार्य र उत्तरदायित्वको संयोजनबाट मात्र फोहर व्यवस्थापनमा दिगोपना हासिल गर्न सकिने बताए । महानगरभित्र उत्पादन हुने फोहरको प्रकृति, स्रोतमा वर्गीकरण, संकलन, ढुवानी, अन्तिम व्यवस्थापन तथा ल्याण्डफिल साइटको उपयोग, स्थानीय तथा अन्य पालिकासँगको सम्बन्ध र अन्तरसरकारी कार्यक्रमको लेखाजोखा तथा तथ्यगत विश्लेषण गरी कार्यक्रमलाई व्यावहारिक र वैज्ञानिक बनाउँदै लैजानुपर्ने उनको भनाइ थियो ।
छलफलमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले सहरमा फोहर संकलन, ढुवानी र अन्तिम व्यवस्थापनका अभ्यासलाई अझ प्रभावकारी बनाउँदै लगिने बताए ,।
यस अवसरमा वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईले विभागका नियमित तथा आकस्मिक कार्यबारे जानकारी गराउँदै प्रविधिमैत्री प्रणालीमार्फत नतिजामुखी कार्यक्रम कार्यान्वयन भइरहेको जानकारी दिए ।
छलफलमा यन्त्र तथा उपकरण महाशाखा र वातावरण व्यवस्थापन महाशाखाका प्रमुखहरु, महानगर प्रहरी बलका नगर प्रहरी नायव उपरीक्षक, इञ्जिनियर, वातावरण निरीक्षक, स्यानिटेसन सुपरभाइजरसहित सम्बन्धित पदाधिकारीहरुले आफूले सञ्चालन गरिरहेका कार्यक्रमबारे जानकारी प्रस्तुत गरेका थिए ।
अहिलेसम्म कार्यवाहक प्रमुख डंगोलले वातावरण व्यवस्थापन विभागसँगै सहरी योजना आयोग, महानगर प्रहरी बल, सम्पदा तथा पर्यटन विभाग तथा सामाजिक विकास विभागले गरेका कार्यका विषयमा समेत जानकारी लिइसकेका छन् ।



