गोप्य सूचना दुरुपयोग गर्नेलाई कानुनी दायरामा ल्याइन्छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राज्यका गोप्य तथा संवेदनशील सूचना दुरुपयोग गर्ने जोसुकैलाई पनि कानुनी दायरामा ल्याइने चेतावनी दिएका छन् ।

गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका पदाधिकारी तथा कर्मचारीले आफ्नो पदीय हैसियत भुलेर गोप्य वा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्तिलाई आफूले लामो समयदेखि नियालिरहेको गृहमन्त्री गुरुङले बताएका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत राज्यका संवेदनशील सूचना कसैको निजी सम्पत्ति नभई सार्वजनिक जिम्मेवारी भएको स्पष्ट पारेका छन्। पदले राज्यका सूचनामा पहुँच प्रदान गरे पनि त्यसको दुरुपयोग गर्ने अधिकार नदिने उनले भने ।

गृहमन्त्री गुरुङले राज्य संयन्त्रबाट प्राप्त हुने सानोभन्दा सानो सूचना, सुराक वा गुप्त जानकारीसमेत अपराध रोकथाम, अनुसन्धान अघि बढाउन तथा भविष्यमा हुन सक्ने गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न निर्णायक बन्न सक्ने बताए ।

उनले राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान खेलबाड गर्ने र आफ्नो देश तथा संगठनप्रति विश्वासघात गर्ने कसैले पनि उन्मुक्ति नपाउने स्पष्ट पारेका छन् ।

“राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो,” गृहमन्त्री गुरुङले भनेका छन्, “पदले सूचनामा पहुँच दिन्छ, तर दुरुपयोग गर्ने अधिकार दिँदैन।”

गोप्य सूचना चुहाउने कार्यलाई गम्भीर रूपमा लिइने संकेत गर्दै उनले राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान विश्वासघात गर्ने जोसुकै भए पनि कानुनको कठघरामा ल्याइने बताए ।

“राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान आफ्नो देश र संगठनमाथि विश्वासघात गर्ने जोसुकै होस्, कुनै उन्मुक्ति पाउने छैन, कानुनको कठघरामा ल्याइनेछ,” उनले स्पष्ट पारे ।