कुनौटा भिरमा छिचोलियो सडक, बेनी–जोमसोम सञ्चालनको बाटो खुल्दै

म्याग्दी – पछिल्लो मनसुनजन्य विपद्का कारण बाढीपहिरोले अवरुद्ध बनेको चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक मर्मतमा प्रमुख चुनौती बनेको कुनौटा भिरमा मार्ग छिचोलिएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ स्थित कुनौटामा कालीगण्डकी नदीले सडक कटान गरेर बगाएको ठाउँमा माटो भरेर बुधबार मार्ग जोडिएको हो ।

यही असोज ११ गते कालीगण्डकीमा आएको बाढीले कुनौटामा करिब २५० मिटर सडक कटान गरेर बगाएपछि पैदल यात्रासमेत जोखिमपूर्ण बनेको थियो । बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माका अनुसार चार दिनको निरन्तर प्रयासपछि दुईतर्फबाट सडक जोडिएको हो ।

“कुनौटामा कालीगण्डकीले सडक बगाएपछि पैदलयात्रा गर्नसमेत वैकल्पिक बाटोबाट जोखिम मोलेर हिँड्नुपर्ने अवस्था थियो,” उनले भने “दुईतर्फबाट जोडिएको सडकमा फिलिङ र लेभल मिलाउने काम पूरा गरी सवारीसाधन सञ्चालनयोग्य बनाउन अझै एक–दुई दिन लाग्न सक्छ ।”

बुधबार मात्रै कुनौटामा सडक निर्माणका लागि दुवैतर्फबाट छ वटा एक्साभेटर र त्यति नै सङ्ख्यामा माटो बोक्ने टिप्पर परिचालन गरिएको थियो । आयोजनाका अनुसार पोखरेबगरमा कालीगण्डकीले बगाएको सडक पुलको पहुँचमार्ग र कुनौटाबाहेकका स्थानमा प्रारम्भिक मर्मतको काम सकिएको छ ।

पर्वतको कुश्मा नगरपालिका–१ पाङदेखि म्याग्दीको बेनी हुँदै चीनको सीमावर्ती कोरला नाका जोड्ने २०२ किलोमिटर लामो सडक असोज दोस्रो साताको वर्षापछि आएको बाढीपहिरोका कारण ५५ स्थानमा अवरुद्ध भएको थियो । असोज ८ देखि ११ गतेसम्मको झरीपछि कालीगण्डकीमा आएको बाढीले मात्रै १० स्थानमा सडक कटान गरी बगाएको तथा क्षति पुर्‍याएको थियो ।

अहिले मालढुङ्गादेखि कुनौटा तथा कोरलादेखि पोखरेबगर सडक पुलसम्मको सडक ठूला सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी मर्मत गरिएको छ । पोखरेबगरदेखि कुनौटाबीचका रातोपानी, धीरच्याङ, भीरकाटे, महभीर, तिप्ल्याङ र बेगखोलामा भने पहिरो पन्छाउने तथा नयाँ मार्ग निर्माण गरिएका स्थानमा ग्रेड र घुम्ती मिलाउने, सडक फराकिलो पार्ने र खाल्डाखुल्डी पुर्ने काम भइरहेको छ ।

पोखरेबगरस्थित सडक पुलमा ग्यावियन पर्खाल निर्माण गरी पुललाई सडकसँग जोड्ने संरचना तयार पार्ने काम पनि भइरहेको छ । उपकरण र मजदुर परिचालन गरेर आगामी सोमबारसम्म सवारीसाधन सञ्चालन गर्ने लक्ष्य राखिएको योजनाका प्राविधिक विनोद पौडेलले बताए ।

सडक मर्मतको सुरुआती चरणमा रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह परिसरमा कालीगण्डकीले सडक कटान गरेपछि वैकल्पिक मार्ग निर्माण गर्नुका साथै इन्धन व्यवस्थापन चुनौतीपूर्ण बनेको थियो । अहिले विद्युत्गृह अगाडिको सडक खुलाउने काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।

नेपाली सेना, स्वयंसेवक तथा ड्रोनको सहयोगमा ढुवानीको काम गरिएको र सापटी मागेर इन्धनको व्यवस्थापन गरिएकाले अहिले इन्धन अभावको समस्या नरहेको आयोजनाले जनाएको छ ।

सडक विभाग र निर्माण व्यवसायीका १५ वटा एक्साभेटर, १२ वटा टिपर र १५ वटा लोडरसहित जनशक्ति परिचालन गरेर सडक मर्मतलाई तीव्रता दिइएको छ । सङ्घीय सडक सुपरीवेक्षण आयोजना पोखराका प्रमुख नरेन्द्र सुवेदीका अनुसार अवरुद्ध सडक खुलाउन सडक विभाग र निर्माण कम्पनीले विभिन्न स्थानमा समानान्तर रूपमा काम गरिरहेका छन् ।

“सडक विभाग र निर्माण कम्पनीले अवरुद्ध सडक खुलाउन सबै ठाउँमा समानान्तर रूपमा काम गरिरहेका छन्,” उनले भने, “आर्थिक वर्ष २०७३/७४ मा सुरु भएको यस आयोजनामा यसपटकको विपद्ले हालसम्मकै ठूलो क्षति पुर्‍याएको छ ।”

सडकमा भएको क्षति मर्मत तथा पुनर्निर्माणका लागि ठूलो रकम आवश्यक पर्ने देखिएको छ । सडक विभागले प्रारम्भिक रूपमा रु ८० करोडदेखि ९० करोडसम्म क्षति भएको अनुमान गरेको छ भने सडक पुनर्निर्माणका लागि करिब रु तीन अर्ब लाग्ने प्रारम्भिक अनुमान गरेको छ ।

रसुवा र तातोपानी नाका बन्द रहेकाले चीनसँगको व्यापारका लागि कोरला नाका थप महत्वपूर्ण बनेको छ । कोरला नाका जोड्ने सडकलाई छिटो सञ्चालनमा ल्याउन सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताए ।

सडक अवरुद्ध हुँदा चीनबाट काठमाडौंलगायतका सहरतर्फ सामान बोकेर आएका करिब ५०० कन्टेनर सडक मर्मत सम्पन्न भएपछि गन्तव्यतर्फ जाने प्रतीक्षामा छन् । यता मुस्ताङको स्याउ बजार पठाउने समय सुरु भइसकेको छ भने दसैँ–तिहारका लागि भेडाच्याङ्ग्रा बजार झार्ने समयसमेत नजिकिँदैछ ।

पर्यटकीय यामसमेत सुरु भइसकेकाले बेनी–जोमसोम सडक छिटो सञ्चालनमा ल्याउन दबाब बढेको छ । कुनौटामा मार्ग छिचोलिएसँगै अब बाँकी स्थानको मर्मतलाई तीव्रता दिएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ ।