काठमाडौं – सरकारले विभिन्न ६ देशमा रहेका नेपाली राजदूतलाई फिर्ता बोलाएको छ ।
सरकारले भारत, अस्ट्रेलिया, श्रीलंका, डेनमार्क, दक्षिण कोरिया र दक्षिण अफ्रिकामा कार्यरत राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो। भारतका लागि राजदूत शंकरप्रसाद शर्मा, अस्ट्रेलियाका लागि चित्रलेखा यादव, डेनमार्कका लागि सुम्निमा तुलाधर, श्रीलंकाका लागि पूर्णबहादुर नेपाली, दक्षिण कोरियाका लागि शिवमाया तुम्बाहाम्फे र दक्षिण अफ्रिकाका लागि कपिलमान श्रेष्ठ राजदूतका रूपमा कार्यरत छन् ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्री पौडेलका अनुसार आइतबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार ती राजदूतहरुलाई एक महिनाभित्र स्वदेश फर्किन सोमबार पत्राचार गरिएको हो ।
यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले ३४ कूटनीतिक नियोगमध्ये १७ स्थानमा राजनीतिक कोटाबाट राजदूत नियुक्त गरेको थियो। तीमध्ये ११ देशका राजदूतहरुलाई सुशीला कार्की नेतृत्वको अन्तरिम चुनावी सरकारले गत कात्तिकमै फिर्ता बोलाइसकेको थियो भने बाँकी ६ जनालाई बालेन शाह नेतृत्वको वर्तमान सरकारले फिर्ता बोलाएको हो।



