तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छः महासङ्घ

काठमाडौं – दसैँमा घर जाने यात्रुसँग सरकारले तोकेकोभन्दा बढी सवारी भाडा असुल गर्ने सवारीसाधनमाथि कारबाही हुने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी भाडा नलिन यातायात व्यवसायी तथा सम्बद्ध सबै पक्षलाई आग्रह गर्दै बढी भाडा असुल गर्ने सवारीसाधनलाई कारबाही गरिने जनाएको हो ।

महासङ्घका महासचिव डेकनाथ गौतमले सरकारले निर्धारण गरेको भाडाभन्दा बढी रकम लिने सवारीसाधनमाथि कारबाही गरिने बताए । सरकारले यस वर्षको दसैँलाई लक्षित गर्दै असोज २३ गतेदेखि देशभर यात्रुवाहक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरिसकेको छ ।

यात्रु तथा मालवाहक सवारीसाधनको सञ्चालनलाई सहज, व्यवस्थित र सुरक्षित बनाउन यातायात व्यवस्था विभाग, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, मजदुर सङ्घ–सङ्गठन, प्रहरी प्रधान कार्यालय तथा उपत्यका ट्राफिक प्रहरी कार्यालयबीचको समन्वयमा अग्रिम टिकट बुकिङ खुला गर्न लागिएको हो ।

महासङ्घले अग्रिम टिकट बुकिङलाई व्यवस्थित बनाउन सातै प्रदेश, जिल्ला समिति, सदस्य सङ्घ–संस्था तथा काठमाडौंको गोङ्गबु बसपार्कमा कार्यरत शाखा प्रमुख र कर्मचारीलाई आवश्यक निर्देशन दिएको छ ।

अग्रिम टिकट बुकिङ काउन्टरमा खटिने कर्मचारीले अनिवार्य रूपमा तोकिएको पोसाक र परिचयपत्र लगाउनुपर्नेछ । यात्रुसँग नम्र व्यवहार गर्दै सहज रूपमा टिकट उपलब्ध गराउने र सुरक्षित यात्राको सुनिश्चितता गर्नसमेत महासङ्घले निर्देशन दिएको छ ।

दसैँको भीड व्यवस्थापनका लागि असोज २५ गते घटस्थापनादेखि कात्तिक ८ गतेसम्म नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ । प्रचलित कानुनअनुसार खाद्य सामग्री, औषधि, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारीसाधनको आवतजावतमा भने यस्तो प्रतिबन्ध लागू हुने छैन ।

यसैगरी, घटस्थापनादेखि कात्तिक १० गतेसम्म यात्रुवाहक सवारीसाधनका लागि देशभर लामो तथा मध्यम रुट परमिट खुला गरिएको छ । सडकको विशेष प्रकृतिका कारण निश्चित आकार तथा प्रकारका सार्वजनिक सवारीसाधन सञ्चालनमा लगाइएको प्रतिबन्ध भने यथावत् रहने महासङ्घले जनाएको छ ।

काठमाडौं उपत्यकाका प्रमुख नाकामा स्थापना गरिएका यात्रु सहायता कक्षको अनुगमन तथा सहजीकरणका लागि यातायात व्यवस्था विभागले ‘फोकल पर्सन’सहितको टोली परिचालन गर्नेछ । महासङ्घले पनि गोङ्गबु बसपार्क, कलङ्की, कोटेश्वर, गौशाला र चाबहिल क्षेत्रमा प्रतिनिधि तथा कर्मचारीलाई जिम्मेवारी तोकेको छ ।

दसैँको यात्रालाई सुरक्षित बनाउन यात्रुवाहक सवारीसाधनको ‘फिटनेस’ परीक्षणलाई समेत प्राथमिकता दिइएको छ । यातायात व्यवस्था विभागको सवारी परीक्षण कार्यालय टेकुबाट प्राविधिक कर्मचारी खटाएर गोङ्गबु बसपार्कमै सवारीसाधनको निःशुल्क फिटनेस परीक्षण गर्ने व्यवस्था मिलाइने भएको छ ।

चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएकाले टिकट बिक्रीदेखि सवारीसाधनको अवस्था, भाडादर र यात्रुको सुरक्षासम्मका विषयमा निगरानी तथा सहजीकरणलाई प्राथमिकता दिइएको महासङ्घले जनाएको छ ।