कास्की – पर्यटकीय राजधानी पोखरामा तिहारको रौनकसँगै सयपत्री फूलको चहलपहल पनि बढेको छ । पोखरा रङ्गशालास्थित खेलमैदानमा बुधबारदेखि ‘नवौँ गोदावरी पुष्प प्रदर्शनी तथा तेस्रो सयपत्री पुष्प मेला’ सुरु भएपछि स्थानीय किसानले उत्पादन गरेका फूल तथा विभिन्न प्रजातिका बिरुवाले मेलास्थल रंगिएको छ ।
फ्लोरिकल्चर एसोसिएसन नेपाल कास्कीको आयोजनामा सुरु भएको मेलाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका हुन् । कात्तिक २३ गतेसम्म सञ्चालन हुने मेलामा स्थानीय किसानले उत्पादन गरेका सयपत्री फूलसँगै विभिन्न प्रजातिका गोदावरी तथा अन्य पुष्पजन्य उत्पादन र बिरुवा बिक्री तथा प्रदर्शनीमा राखिएको छ ।
तिहारका बेला सयपत्री फूलको माग उच्च हुने भएकाले मेलाले किसान र उपभोक्ता दुवैलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ । स्थानीय किसानले उत्पादन गरेको फूलका लागि बजार उपलब्ध गराउनुका साथै उपभोक्ताले सहज रूपमा ताजा फूल तथा फूलका बिरुवा खरिद गर्न सकून् भन्ने उद्देश्यले मेला आयोजना गरिएको आयोजकले जनाएको छ ।
मेला उद्घाटन गर्दै महानगर प्रमुख आचार्यले पोखरालाई पुष्पजन्य उत्पादनमा आत्मनिर्भर बनाउने गरी उत्पादन र उत्पादकत्व बढाउनुपर्नेमा जोड दिए । उनले फूलखेतीलाई केवल मौसमी व्यवसायका रूपमा नभई व्यावसायिक, प्रतिस्पर्धी र दिगो कृषि उद्यमका रूपमा विकास गर्नुपर्ने बताए ।
“पोखरामा पुष्पजन्य उत्पादनको पर्याप्त सम्भावना छ । स्थानीय उत्पादन वृद्धि गर्दै फूलमा आत्मनिर्भर बन्ने दिशामा अघि बढ्नुपर्छ । उत्पादनको गुणस्तर कायम राख्दै बजार व्यवस्थापनमा ध्यान दिन आवश्यक छ,” आचार्यले भने ।
पोखरा महानगरपालिकाका अनुसार नगर क्षेत्रमा करिब २०० रोपनीमा सयपत्री फूलको व्यावसायिक खेती हुँदै आएको छ । स्थानीय उत्पादनलाई प्रोत्साहन, बाहिरबाट हुने फूलको आयात घटाउने र किसानको आम्दानी बढाउने उद्देश्यले महानगरपालिकाले विभिन्न किसिमका सहयोग गर्दै आएपछि किसान फूलखेतीतर्फ आकर्षित भएका छन् ।
महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले पुष्प व्यवसायमा संलग्न किसानलाई प्रोत्साहन गर्दै व्यवसायीका लागि सुरक्षित र व्यवस्थित बजार निर्माण गर्न महानगर प्रतिबद्ध रहेको बताए । उनका अनुसार पोखरामा वार्षिक करिब तीन करोड रुपैयाँ बराबरको फूलको कारोबार हुने अनुमान छ ।
फूलको कारोबारले स्थानीय अर्थतन्त्रमा समेत योगदान पुर्याउँदै आएको छ । पुष्पखेतीबाट किसानको आम्दानी बढ्नुका साथै रोजगारी सिर्जना र कृषि उद्यमशीलतालाई समेत यस व्यवसायले टेवा दिएको कडरियाको भनाइ छ । उनले पुष्प उत्पादनलाई थप व्यवस्थित र व्यावसायिक बनाउन किसान तथा व्यवसायीबीच सहकार्य आवश्यक रहेको बताए ।
मेलामा सयपत्री र गोदावरीसहित विभिन्न प्रजातिका फूल तथा बिरुवाको प्रदर्शनी र बिक्री भइरहेको छ । तिहार तथा छठ पर्वका लागि आवश्यक फूल स्थानीयस्तरमै उपलब्ध गराउने भएकाले मेलाले उपभोक्तालाई समेत सहज बनाउने आयोजकको विश्वास छ ।
फ्लोरिकल्चर एसोसिएसन नेपाल कास्कीका अध्यक्ष रामप्रसाद सुवेदीले तिहार र छठका अवसरमा उपभोक्तालाई सहज रूपमा फूल तथा बिरुवा उपलब्ध गराउन मेला महत्वपूर्ण बनेको बताए । उनका अनुसार संस्थामा आबद्ध ४२ वटा नर्सरी तथा पुष्प व्यवसायी फूलको उत्पादन र बिक्री–वितरणमा संलग्न छन् ।
पोखरामा पछिल्लो समय पुष्पखेती विस्तार हुँदै गएसँगै फूलको बजार पनि स्थानीय उत्पादनमै निर्भर बन्न थालेको छ । तिहारको समयमा सयपत्रीको माग बढ्ने भएकाले किसानले उत्पादन गरेको फूललाई प्रत्यक्ष उपभोक्तासम्म पुर्याउने मेलाले किसानको बजार सुनिश्चित गर्न र उपभोक्तालाई सहज रूपमा फूल उपलब्ध गराउन पुलको काम गर्ने देखिएको छ ।



