फोहरमैला घरमै राख्न काठमाडौँ महानगरको आग्रह

काठमाडौं – बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहरमैला विसर्जनमा अवरोध भएपछि काठमाडौँ महानगरपालिकाले फोहर घरमै राख्न नगरवासीलाई आग्रह गरेको छ ।

महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले शुक्रबार एक सूचना जारी गर्दै फोहरमैला अस्थायी रूपमा घर वा कम्पाउन्डभित्र सुरक्षित तरिकाले राख्न र जथाभावी सडक तथा सार्वजनिक स्थलमा नफाल्न अनुरोध गरेको हो ।

कामपाका अनुसार उपत्यकाको अन्तिम फोहर विसर्जन स्थल बञ्चरेडाँडा ल्याण्डफिल साइटमा अवरोध कायम रहँदा फोहर बिसर्जन गर्न नसकिएको छ ।

सूचनामा भनिएको छ, “फोहर उठाउन अवरोधका कारण कठिनाइ भएकाले महानगरवासीले आफ्ना घरको फोहर सुरक्षित तरिकाले राख्न र व्यवस्थापनमा सहयोग गर्न अनुरोध छ।”

हाल बञ्चरेडाँडा क्षेत्रमा स्थानीयको असन्तुष्टिका कारण फोहर बिसर्जन कार्य रोकिएको बताइएको छ । यसअघि पनि स्थानीयको विरोध र पूर्वाधार अभावका कारण यो स्थलमा पटक–पटक फोहर व्यवस्थापनमा समस्या आइरहेको छ ।

कामपाले अवरोध हटाउन सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको जनाएको छ र समस्या समाधान भएपछि फोहर उठाउने कार्य पुनः सुरु गरिने जनाएको छ।