काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र रास्वपा सभापति रवि लामिछानेबीच ६ घण्टा लामो वार्ता भए पनि ठोस सहमति नबन्ने भएपछि मेयर साह आफ्नै नेतृत्वमा राजनीतिक दल बनाएर चुनावमा जाने तयारीमा जुटेका छन् ।
सभापति लामिछानेले बालेनलाई रास्वपामा समाहित गरेर लैजाने उद्देश्य राखेको बुझेपछि बालेनले कांग्रेस, एमालेलगायतका दलमा रहेका लोकप्रिय अनुहारहरू तथा सामाजिक सञ्जाल र जनताबीच परिचित व्यक्तिहरूलाई समेटेर आफ्नै दल अगाडि बढाउने योजना बनाएका हुन् ।
बालेनको स्वकीय सचिवालयका भूपदेव शाह र सुनिल लम्साललगायतले विभिन्न दलका लोकप्रिय युवा नेताहरूसँग फोनमार्फत भेटघाटको प्रस्ताव राखेका छन् । बुधबारदेखि जारी छलफल प्रक्रिया आज पनि जारी रहेको छ। उनका निकट स्रोतका अनुसार, देश विकास पार्टीबाट चुनाव लड्ने गरी समानुपातिकतर्फका उम्मेदवारको सूची संकलन भइरहेको छ ।
बालेनले यस क्रममा जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्तिका संस्थापक रेशमलाल चौधरी, कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहिया, तथा विवेकशील साझाका मिलन पाण्डेसँग छलफल गरिसकेका छन्। रेशमले नेपाल प्रेससँग सम्पर्कमा आएर चुनावमा मिलेर जान तयार रहेको बताएका छन् ।
उनको टोलीले विभिन्न समुदायभित्रका सामाजिक काममा स्थापित युवाहरू र उद्यमशील व्यक्तिहरूको सूची बनाउने काम पनि अघि बढाइरहेको छ । बालेनको देशव्यापी प्रभावका कारण उनका सहयोगीहरूले अनुमान गरेका छन् कि उनको फेसले रवि लामिछानेको भन्दा बढी भोट ल्याउन सक्छ ।
यसबीचमा बालेनले राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही र रिपोर्टर्स क्लवका अध्यक्ष ऋषि धमलासँग समेत छलफल गरेका छन् । सामाजिक सञ्जालमा सक्रिय पूर्वसचिव भीम उपाध्यायदेखि कलाकार निश्चल बस्नेतसम्म बालेनको भेलामा सहभागी भएका थिए ।
कुपण्डोलस्थित बैठकस्थलमा विभिन्न व्यक्तिहरू आउने जाने क्रम जारी रहेको र केहीसँग सामूहिक छलफल पनि भएको बताइएको छ । सोसल मिडिया इन्फ्लुएन्सर र कन्टेन्ट क्रियटरहरूको समूह पनि बालेनको पक्षमा उभिन थालेको दाबी उनका सहयोगीहरूले गरेका छन् ।
बालेनको टीममा रास्वपा छाडेकी सुमना श्रेष्ठ र रास्वपाका नेता गणेश कार्की पनि रहने भएका छन् ।



