नारायणघाट–बुटवल सडकमा नेपालकै पहिलो ‘क्यानोपी ब्रिज’ निर्माण

काठमाडौं– नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै पहिलोपटक बाँदर तथा रुखमा बस्ने अन्य वन्यजन्तुलाई सुरक्षित रूपमा सडक वारपार गराउन ‘ओभरहेड क्यानोपी ब्रिज’ निर्माण गरिएको छ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट जङ्गलस्थित पितौजी क्षेत्रमा जैविक विविधता संरक्षण तथा प्रवर्द्धन कार्यक्रमअन्तर्गत उक्त संरचना निर्माण गरिएको हो। वन क्षेत्र हुँदै सडक विस्तार गरिँदा वन्यजन्तुको प्राकृतिक आवागमनमा असर नपरोस् भन्ने उद्देश्यले क्यानोपी ब्रिज निर्माण गरिएको नारायणघाट–बुटवल सडक आयोजना (पूर्वी खण्ड)का सूचना अधिकारी तथा इन्जिनियर शिव खनालले जानकारी दिए ।

उनका अनुसार सडक आयोजनाअन्तर्गत बाँदरलाई लक्षित गरी निर्माण गरिएको यो नेपालकै पहिलो क्यानोपी ब्रिज हो। यसको प्रयोग र प्रभावकारिताको अध्ययनपछि आवश्यक देखिएका अन्य उपयुक्त स्थानमा पनि यस्ता संरचना निर्माण गर्ने योजना रहेको उनले बताए ।

क्यानोपी ब्रिजमार्फत बाँदर, लङ्गुरलगायत रुखबाट रुखमा आवतजावत गर्ने वन्यजन्तुले सडकमा झर्नुपर्ने बाध्यता हट्ने र सवारीसाधनसँग हुने दुर्घटनाको जोखिम पनि कम हुने अपेक्षा गरिएको छ। यसले वन्यजन्तुको प्राकृतिक व्यवहार संरक्षण गर्नुका साथै चालक र यात्रुको सुरक्षामा समेत सकारात्मक योगदान पुग्ने आयोजनाको विश्वास छ।

एसियाली विकास बैंक (एडिबी)को सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भइरहेको ११३ किलोमिटर लामो नारायणघाट–बुटवल सडक विस्तार आयोजना नेपालका ठूला पूर्वाधार आयोजनामध्ये एक हो। आयोजनालाई पूर्वी र पश्चिमी गरी दुई खण्डमा विभाजन गरी निर्माण भइरहेको छ।

आयोजनाका अनुसार पूर्वी खण्डमा मुख्य सडकको कालोपत्र तथा कङ्क्रिट ढलानको काम सम्पन्न भइसकेको छ। जुन २०२६ सम्म यस खण्डको समग्र भौतिक प्रगति ९२.३८ प्रतिशत पुगेको छ।

सडक निर्माणसँगै वातावरणीय प्रभाव न्यूनीकरणका लागि वन्यजन्तुमैत्री संरचना, नाला, हरियाली प्रवर्द्धन तथा सडक सुरक्षा पूर्वाधारसमेत निर्माण भइरहेका छन्। इन्जिनियर खनालका अनुसार जैविक विविधतालाई संरक्षण गर्दै निर्माण गरिएको क्यानोपी ब्रिजले नेपालका आगामी सडक आयोजनामा वातावरणमैत्री पूर्वाधार निर्माणको नयाँ अभ्यास स्थापित गर्ने अपेक्षा गरिएको छ।