डोटीमा उत्पादित उन्नत मकैको बीउ झापामा बिक्री

डोटी, फागुन १८ गते । डोटीको जोरायल गाउँपालिका–४ स्थित लक्ष्मी सरस्वती बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ६९ टन उन्नत जातको मकैको बीउ बिक्री गर्ने भएको छ । सहकारीले किसानबाट सङ्कलन गरी ६९ हजार छ सय ८८ किलो मकैको बीउ बिक्री गर्ने भएको छ । सहकारीले मङ्सिरदेखि किसानबाट मकै सङ्कलन गर्न सुरु गरी चैतसम्म प्रमाणीकरणसहित ‘प्याकिङ’ गरेर पुनः बीउ किसानसम्म पुर्याउने गरेको छ ।

यस वर्षको अहिलेसम्म १४ हजार एक सय ७० किलो मकैको बीउ बिक्री भइसकेको सहकारीका व्यवस्थापक ठक्करबहादुर कठायतले बताउनुभयो । पचपन्न हजार पाँच सय १८ किलो मकैबीउ बिक्रीका लागि तयारी अवस्थामा छ । सहकारीले प्रतिकेजी रु ८० का दरले बीउ बिक्री गर्दछ । सहकारीले अरुण–२, अरुण–४, मनकामना–३, पोषिलो, रामपुर, कम्पोजिटलगायतका विभिन्न उन्नत जातका बीउ बिक्री गर्दै आइरहेको छ ।

सहकारीले विभिन्न एग्रोभेटमार्फत बीउ आपूर्ति गर्दै आएको छ । डोटीको जोरायलमा उत्पादन भएको मकैको बीउ झापा जिल्लासम्मै पुग्ने गरेको सहकारीले जनाएको छ । सहकारीले बिक्री गर्ने बीउबाट उत्पादन भएको मकै विशेष गरेर पोलेर खान, कुखुराका लागि दाना बनाउनलगायतका विभिन्न प्रयोजनमा आउने गर्छ । सहकारीले गत वर्ष ५४ लाख ४० हजार बराबरको ६८ टन मकैको बीउ बिक्री गरेको थियो ।