वायु प्रदूषणका कारण नेपालमा बर्सेनि ४२ हजारको मृत्यु

काठमाडौँ, – नेपालमा बढ्दो वायु प्रदूषणका कारण हरेक वर्ष करिब ४२ हजार मानिसको मृत्यु हुने गरेको तथ्य सार्वजनिक भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय का प्रवक्ता डा प्रकाश बुढाथोकी का अनुसार वायु प्रदूषणका कारण हुने मृत्युमध्ये करिब २१ प्रतिशत पाँच वर्षमुनिका बालबालिका रहेका छन् ।

उनका अनुसार वायु प्रदूषणले श्वासप्रश्वाससम्बन्धी समस्या, दम, मुटुरोग, हृदयघात, मस्तिष्कघात, उच्च रक्तचाप, मधुमेह, क्यान्सर तथा स्मरणशक्ति कमजोर हुने जस्ता गम्भीर स्वास्थ्य समस्या निम्त्याउने गरेको छ ।

विज्ञहरूका अनुसार प्रदूषणको असर विशेषगरी बालबालिकामा बढी देखिन्छ। बालबालिकामा श्वासप्रश्वाससम्बन्धी समस्या बढ्नु, मुटुसम्बन्धी रोगको जोखिम बढ्नु, शिशु बिरामीदर वृद्धि हुनु, बाल्यकालीन क्यान्सरको सम्भावना बढ्नु, मस्तिष्क विकासमा ढिलाइ हुनु तथा असामान्य व्यवहार देखिनु जस्ता समस्या देखिने गरेका छन् ।

त्यस्तै गर्भवती महिलामा पनि वायु प्रदूषणले विभिन्न समस्या निम्त्याउने गरेको छ । कम तौलको बच्चा जन्मिनु, रक्तअल्पता, बाँझोपन, गर्भकालीन मधुमेह तथा मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिने जोखिम बढ्ने गरेको जनाइएको छ ।

प्रवक्ता डा बुढाथोकीका अनुसार विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को मापदण्डभन्दा नेपालमा वायु प्रदूषण करिब आठ गुणासम्म बढी रहेको छ । बिहीबार नेपालमा वायु गुणस्तर सूचक (ब्त्तक्ष्) १८५ सम्म पुगेको जानकारी पनि उनले दिए ।

डब्लुएचओका अनुसार स्वास्थ्यका लागि हानिकारक मानिने सूक्ष्म कण (एः२.५) को वार्षिक औसत मात्रा प्रतिघनमिटर पाँच माइक्रोग्रामभन्दा बढी हुनुहुँदैन । यस्ता सूक्ष्म कण हावामा तैरिएर मानिसको श्वासप्रश्वासमार्फत फोक्सोसम्म पुग्ने भएकाले स्वास्थ्यमा गम्भीर असर पार्ने बताइएको छ ।

वायु गुणस्तर सूचक ०–५० सम्म स्वस्थ, ५१–१०० सचेत, १०१–१५० जोखिम समूहका लागि हानिकारक र १५१ भन्दा माथि अस्वस्थ मानिने गरिएको छ ।

नेपालमा वायु प्रदूषणलाई डब्लुएचओको मापदण्डभित्र ल्याउन सके नेपालीको औसत आयु ३.३ वर्षसम्म बढ्न सक्ने अनुमान गरिएको छ । विश्वभर वायु प्रदूषणका कारण बर्सेनि करिब ७९ लाख मानिसको मृत्यु हुने गरेको र तीमध्ये ९० प्रतिशत कम तथा मध्यम आय भएका देशका नागरिक पर्ने गरेका छन् ।

नेपालमा वायु प्रदूषण बढ्नुका प्रमुख कारणमा सवारीसाधनबाट निस्कने धुवाँ, औद्योगिक उत्सर्जन, खुला रूपमा फोहर तथा जैविक पदार्थ जलाउने प्रवृत्ति, सडक तथा निर्माण कार्यबाट उठ्ने धुलो, वन डढेलो तथा किटनाशक र विषादीको प्रयोगलाई मानिएको छ ।