बीमा प्राधिकरयाको विद्यार्थीहरुसँग अन्तरक्रिया

काठमाडौँ, माघ १० गते । नुवाकोटको एक विद्यालयमा नेपाल बीमा प्राधिकरणले विद्यार्थीसँग बीमा सम्बन्धी अन्तरक्रिया गरेको छ । बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मंगलबार नुवाकोट जिल्लाको दुप्चेश्वर–६, समुन्द्रटारस्थित रुक्मणी माध्यमिक विद्यालयमा अन्तरक्रिया गरेको हो ।

रुक्मणी माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीहरु गरि करिव ६५ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक कुन्दन सापकोटाले गाउँँ-गाउँमा बीमा सम्बन्धी सचेतना फैलाउन शिक्षक तथा विद्यार्थीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । प्राधिकरणले विद्यालयस्तरमा समेत बीमा सम्बन्धी कार्यक्रमहरु आयोजना गरिँदै आएको दाबी गर्नुभयो ।

उपनिर्देशक सापकोटाले बीमाले जीवन तथा सम्पत्तिमा हुने क्षति तथा हानी नोक्सानी विरूद्ध आर्थिक सुरक्षा प्रदान गर्ने भएकाले बीमाका बारेमा गाउँघरमा गएर जानकारी दिन विद्यार्थीहरुसँग आग्रह गर्नुभयो ।

रुक्मणी माध्यमिक विद्यालयका प्रधानाध्यापक मुकुन्द थापाले विद्यालयमा बीमा सम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरी बीमासम्बन्धी विषयमा जानकारी दिएकोमा प्राधिकरणप्रति आभार प्रकट गर्नुभयो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक गीता नेपाल आचार्यले बीमा सम्बन्धी प्रस्तुती गर्नुभएको थियो भने सहायक प्रथम शिवप्रसाद खनालले कार्यक्रम संचालन गर्नुभएको थियो ।