सुक्खा मौसमसँगै काठमाडौंको हावा अस्वस्थकर, आइतबारसम्म प्रदूषण कायमै रहने अनुमान

काठमाडौं – सुक्खा मौसम सुरु भएसँगै काठमाडौं उपत्यकाको वायु प्रदूषण बढ्न थालेको छ। वर्षा कम भएसँगै हावामा धुलो तथा सूक्ष्म प्रदूषित कणको मात्रा बढ्दा उपत्यकाका विभिन्न क्षेत्रमा वायु गुणस्तर अस्वस्थकर तहमा पुगेको हो।

स्विट्जरल्यान्डस्थित वायु गुणस्तरसम्बन्धी तथ्यांक संकलन गर्ने संस्था आईक्यूएयरका अनुसार शुक्रबार बिहान काठमाडौं उपत्यकाको वायु गुणस्तर सूचकांक (एक्यूआई) १११ मापन भएको छ। बिहीबार मध्यबानेश्वर क्षेत्रमा एक्यूआई १५३ सम्म पुगेको थियो भने शुक्रबार बिहान सवा ९ बजेसम्म उक्त क्षेत्रमा एक्यूआई १२७ रहेको छ।

आईक्यूएयरले आगामी आइतबारसम्म काठमाडौंको वायु प्रदूषण अस्वस्थकर तहमा रहने पूर्वानुमान गरेको छ। सुक्खा मौसममा वर्षा कम हुने र हावामा धुलो तथा प्रदूषित कणको मात्रा बढ्ने भएकाले उपत्यकाको वायु गुणस्तर थप खस्किने जोखिम रहेको छ।

काठमाडौं महानगरपालिकाको एयर क्वालिटी मनिटरिङ ड्यासबोर्डका अनुसार स्वयम्भू, बालाजु, टेकु, डल्लु, थापाथली, क्षेत्रपाटी, जडिबुटी, असन, कमलादी, शान्तिनगर, चाबहिल, लैनचौर र हाँडीगाउँलगायत क्षेत्रमा वायुको गुणस्तर अस्वस्थकर तहमा पुगेको छ।

वायु प्रदूषण बढ्दै गएपछि काठमाडौं महानगरपालिकाले प्रदूषण बढाउने गतिविधि नगर्न सम्बद्ध सबैलाई आग्रह गरेको छ।

वायु गुणस्तर सूचकांकअनुसार हावामा पीएम २.५ को मात्रा १०१ देखि १५० सम्म पुग्दा संवेदनशील समूहका लागि अस्वस्थकर मानिन्छ। यस्तो अवस्थामा बालबालिका, वृद्धवृद्धा, श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्ति तथा दीर्घरोगीहरू बढी जोखिममा पर्न सक्छन्।

पीएम २.५ को मात्रा १५१ देखि २०० सम्म पुगेमा भने वायु सबैका लागि अस्वस्थकर मानिन्छ। पीएम २.५ हावामा रहेका २.५ माइक्रोमिटरभन्दा साना सूक्ष्म कण हुन्। यस्ता कण अत्यन्त साना हुने भएकाले श्वासप्रश्वासका क्रममा शरीरभित्र गहिरोसम्म प्रवेश गर्न सक्छन्।

विश्व स्वास्थ्य संगठनले पीएम २.५ को वार्षिक औसत मात्रा प्रतिघनमिटर हावामा पाँच माइक्रोग्रामभन्दा बढी हुन नहुने मापदण्ड तोकेको छ। २४ घण्टाको औसत मात्रा भने प्रतिघनमिटर १५ माइक्रोग्रामभन्दा बढी हुन नहुने संगठनको मापदण्ड छ।

दिल्लीमा प्रदूषण झन् गम्भीर

उता छिमेकी भारतको राजधानी नयाँदिल्लीमा वायु प्रदूषण झन् गम्भीर तहमा पुगेको छ। केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) का अनुसार शुक्रबार बिहान दिल्लीका विभिन्न क्षेत्रमा एक्यूआई ४०० नाघेको छ।

सीपीसीबीका अनुसार शुक्रबार बिहान ८ बजे दिल्लीको एक्यूआई ४२२ पुगेको थियो। जवाहरलाल नेहरू स्टेडियम क्षेत्रमा ४२१ र नजफगढमा ४१४ एक्यूआई मापन भएको छ। चाँदनी चोक क्षेत्रमा भने एक्यूआई ३९१ रहेको थियो।

सीपीसीबीले एक्यूआई ४०१ देखि ५०० सम्मलाई ‘गम्भीर’ अवस्था मानेको छ। यस्तो अवस्थामा स्वस्थ व्यक्तिको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्न सक्छ भने पहिले नै स्वास्थ्य समस्या भएका व्यक्तिमा गम्भीर समस्या निम्तिन सक्ने जोखिम हुन्छ।

त्यस्तै, एक्यूआई ३०१ देखि ४०० सम्म रहेमा लामो समयसम्म त्यस्तो प्रदूषित हावामा श्वास फेर्दा श्वासप्रश्वाससम्बन्धी समस्या बढ्न सक्ने सीपीसीबीले जनाएको छ।

सीपीसीबीको वर्गीकरणअनुसार एक्यूआई शून्यदेखि ५० सम्म हुँदा मात्र वायु गुणस्तर राम्रो मानिन्छ। ५१ देखि १०० सम्मलाई सन्तोषजनक अवस्था मानिन्छ। काठमाडौंमा अहिले देखिएको १११ को एक्यूआई भने संवेदनशील समूहका लागि अस्वस्थकर तहमा पुगेको संकेत हो।

सुक्खा मौसम लम्बिँदै जाँदा वर्षा र हावाको गति कम भए काठमाडौं उपत्यकाको वायु प्रदूषण अझ बढ्न सक्ने भएकाले प्रदूषण नियन्त्रणका उपायलाई प्रभावकारी बनाउनुपर्ने देखिएको छ।