राप्ती सोनारीमा ‘एक वडा, एक बर्थिङ सेन्टर’

राँझा, असोज ९ गते । बाँकेको राप्तीसोनारी गाउँपालिकाले घरमा हुने सुत्केरी दरलाई शून्यमा झार्न सबै वडामा प्रसूतिगृह (बर्थिङ सेन्टर) सञ्चालनमा ल्याउने भएको छ ।

सुत्केरी हुन सदरमुकाम नेपालगन्ज वा अन्य छिमेकी स्थानीय तहमा पुग्नुपर्ने बाध्यताको अन्त्य गर्न गाउँपालिकाका नौवटै वडामा प्रसूतिगृह सञ्चालन गरिरहेको गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले बताउनुभयो ।

“गाउँपालिकाले सबै वडामा वर्थिङ सेन्टर सञ्चालनको नीति लिएको छ”, उहाँले भन्नुभयो, “आगामी आर्थिक वर्षभित्र एक वडा एक बर्थिङ सेन्टर सञ्चालन गरेर घरमा हुने सुत्केरी दरलाई शून्यमा झार्ने हाम्रो उद्देश्य छ ।”

अध्यक्ष पौडेलले राप्ती सोनारी गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो । गाउँपालिकाले वडा नं ६ कमैयाडाँडामा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा नवनिर्मित प्रसूतिगृह भवनको उद्घाटन गरी प्रसूति सेवा सञ्चालनको तयारी गरेको छ ।

योसँगै राप्ती सोनारी गाउँपालिकाका सात वडामा प्रसूतिगृह सञ्चालनमा आएका छन् । कुसुम, कचनापुर, बैजापुर, विनौना, फत्तेपुर र ढकेरीमा यसअघि नै प्रसूतिगृह सञ्चालनमा आइसकेका छन् । अब यो आर्थिक वर्षमै वडा नंं ८ शम्शेरगन्जमा पनि प्रसूतिगृह सञ्चालनमा ल्याइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले जानकारी दिनुभयो ।

वडा नं.६ कमैयाडाँडास्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा प्रसूतिगृह सञ्चालनमा आएपछि सुत्केरी हुन सदरमुकाम नेपालगन्ज पुग्नुपर्ने बाध्यताको अन्त्यसँगै आमा र नवजात शिशु मृत्युदरमा सुधार आउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

कमैयाडाँडा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा अहिले तीन जना पारामेडिक्स, दुई जना नर्स, एक जना सरसफाइकर्मी र एक जना कार्यालय सहयोगी गरी सात जना कर्मचारी कार्यरत छन् । प्रसूतिगृह सञ्चालनपछि भने जनशक्तिको अभाव हुने अनमी तिलसरी घर्तीले बताउनुभयो ।

रु २६ लाख २४ हजार ९ सय ५८ मा प्रसूतिगृह भवन निर्माण सम्पन्न भएको राप्ती सोनारी गाउँपालिका वडा नं ६ का वडाध्यक्ष लवराज खरेलले जानकारी दिनुभयो । वडा नं ६ मा गर्भवती तथा सबैखाले बिरामीको सहजताका लागि एम्बुलेन्स सेवा पनि सञ्चालनमा ल्याइएको छ । नेपाल रेडक्रस सोसाइटीको रु २४ लाख र गाउँपालिका र वडा कार्यालयको करिब रु एक लाखको सहयोगमा एम्बुलेन्स सेवा पनि सञ्चालनमा ल्याइएको वडाध्यक्ष खरेलले बताउनुभयो ।