चालु वर्षमै १० वटा जहाज खरिद गर्छौ, दसैंअघि नै औपचारिक रुपमा प्रक्रिया अघि बढ्छ : किराती

काठमाडौं, असोज २८ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चालु वर्षमै १० वटा जहाज खरिद गर्ने बताउनुभएको छ ।

आइतबार मन्त्री निवास पुलचोकमा सत्तारुढ दल नेपाली कांग्रेसको विद्यार्थी संगठन (नेविसंघ) ले चाडबाडका बेलामा हुने भाडादरमा कालोबजारीलाई नियन्त्रण गर्न आग्रह गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपाल वायुसेवा निगमको जहाज थपेर भाडादरमा देखिएको विसंगतिलाई बजार हस्तक्षेप गर्नु नै एकमात्र विकल्प रहेको बताउनुभयो ।

उहाँले १० वटासम्म जहाज नथपी पर्यटकहरु नेपाल नआउने दाबी गर्नुभयो । दसैंअघि नै औपचारिक रुपमा विमान खरिद प्रक्रिया अघि बढाउने उहाँले बताउनुभयो ।

मन्त्री किरातीले आजैदेखि नेपालगञ्जबाट दुर्गम क्षेत्रका लागि नेपाल एयरलाइन्सको विमान दशैभर सञ्चालन गर्ने प्रतिबद्धता गर्नुभएको छ ।

उहाँले अहिले फ्युल बढेका कारण भाडादर बढेको भन्दै चाडवाडका बेलामा हुने कालोबजारीलाई रोक्न मन्त्रालय सम्बन्धित निकायसँग छलफल गरी वक्तव्य जारी गर्ने बताउनुभयो ।

उहाँले सबै महंगी नियन्त्रण गर्न सरकारले छुट दिन सक्नुपर्ने पनि बताउनुभयो ।