राति आकाशमा जहाजबाट हेर्दा जुन सहर उज्यालो हुन्छ त्यहि ललितपुर हुने चिरीबाबुको दाबी

ललितपुर, मंसिर १५ गते । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले रात्रिकालीन दुर्घटना न्युनिकरणका लागि कुसुन्ती र धोबीघाट क्षेत्रमा बत्ती बाल्न १० दिनभित्र टेण्डर आह्वान गर्ने बताउनुभयो ।

बिहीवार साँझ ललितपुर महानगर क्षेत्रभित्र दोस्रो चरणमा जडान गरिएको स्मार्ट सडक बत्ती उद्घाटन कार्यक्रममा बोल्दै महर्जनले राति आकाशमा जहाजबाट हेर्दा जुन सहर उज्यालो हुन्छ त्यहि ललितपुर हुने उहाँको दाबी छ ।

मेयर महर्जनले कुसुन्ती क्षेत्रमा बत्ती नभएकै कारण अहिलेसम्म २४ जनाको निधन भइसकेको र धोबिघाट क्षेत्रमा ३४ जनाको ज्यान गइसकेकाले अबको १० दिनभित्र बत्ती बाल्नको लागि टेण्डर आह्वान गर्ने बताउनुभयो ।

उहाँले महानगर क्षेत्रकै ७।९ किलोमिटर चक्रपथमा बत्ती बलिसकेपछि बत्ती नभएको कारणले दुर्घटना नहुने दावी गर्नुभयो । मेयर महर्जनले सडकमा स्मार्ट लाइटका लागि महानगरले यस वर्ष ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको र १ करोड २० लाख विद्युत प्राधिकरणको सहयोग हुँदा कुल ४ करोड २० करोड रुपैयाँ बत्तीका लागि छुट्याइएको बताउनुभयो ।

मेयरले भन्नुभयो,यही वर्ष पनि हामीले ३ करोड रुपैयाँ बत्तीका लागि स्मार्ट सिटी लाइटका लागि राखेका छौँ । १ करोड २० लाख विद्युत प्राधिकरणको हुन्छ, गर्दा ४ करोड २० लाख बत्तीका लागि राखेका छौँ । गएको वर्षको टेण्डर त बाँकी नै छ । तसर्थ यी दुई वर्षको काम सकिसकेपछि ललितपुर महानगरपालिका उज्यालो हुनेछ । रात्रीकालीन अवस्थामा प्लेनमा चढेर उज्यालो काठमाडौं भ्यालीमा देख्नुभयो भने त्यो ललितपुर महानगरपालिका हो । जुन शहर उज्यालो हुन्छ, त्यो ललितपुर महानगर हुनेछ ।’

महानगरले दोस्रो चरणमा १४ सय थान सडक बत्तीमध्ये सातदोबाटो हरिसिद्धि, सातदोबाटोदेखि सुनाकोटी, सातदोबाटोदेखि धापाखेल, एकान्तकुना भैंसेपाटीदेखि चुनिखेलसम्म, बुङमती दोबाटोदेखि थसीखेल, खोकना दोबाटोदेखि खोकनासम्म, मेडिसिटी हस्पिटलदेखि चोभारको पुलसम्म १४ सय थान लाइट जडान गरेको हो । महानगरले पहिलो चरणमा ६६९ थान सडक बत्ती जडान भएको थियो ।