जनकपुरधाम, माघ २ गते । भंगहा–जयनगर रेलभित्रै अचानक लडेर एक यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको लोहरपट्टी नगरपालिका ४ खुट्टापिपराढीका अन्दाजी ५० वर्षीय रामएकवाल पण्डित रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज बिहान ८ बजे महोत्तरीको भंगहाबाट जयनगर तर्फ जान लागेको रेलमा पण्डित लोहारपट्टीमा चढेका थिए ।
टिटी (रेलको कन्डक्टर)ले टिकट चेक गर्न जाँदा अचानक रेलको डिब्बाभित्रै लडेर उनको मृत्यु भएको जानकारीमा आएको डिएसपी अवाले बताउनुभयो ।
मृतक पण्डितको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटनाको विषयमा थप अनुसन्धान गरिरहेको डिएसपी अवाले बताउनुभयो ।



