मेयर सिंहविरुद्ध सात ठाउँमा उजुरी

काठमाडौं, माघ ७ गते । नकली बाक्बु बनेर नागरिकता दिलाएको आरोप लागेका वीरगन्जका मेयर राजेशमान सिंह र किर्ते नागरिकता अभिलेख लुकाउन संलग्न कर्मचारीविरुद्ध गृह मन्त्रालय अख्तियारसहित सात ठाउँमा उजुरी परेका छन् ।

मेयर सिंहविरुद्ध कारबाही माग गर्दै प्रधानमन्त्रीको कार्यालयदेखि गृह मन्त्रालयसम्म तथा पर्सा जिल्ला प्रशासन कार्यालय, पर्सा प्रहरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सीआइबी तथा राष्ट्रिय सतर्कता केन्द्रसम्म उजुरी परेको हो । यसैगरी राष्ट्रपति कार्यालयदेखि विभिन्न दलहरुलाई ध्यानाकर्षण पत्र पनि दिइएको जनमत पार्टीका जिल्ला सहइन्चार्ज मुकेश द्विवेदीले बताउनुभयो ।

उल्लिखित जनप्रतिनिधि एवमं राष्ट्रसेवक कर्मचारीले किर्ते नागरिकता जारी गरेर भ्रष्टाचारजन्य कार्य गरेको, पदको दुरुपयोग गर्दै अनुसन्धान प्रक्रिया दबाउन खोजेको भन्दै कारबाही प्रक्रिया अविलम्ब सुरु गर्न माग गरिएको छ ।

वीरगन्जका अनिल सिंह, अजयकुमार गुप्ता, विजय महतो, मुकेश द्विवेदी, पुरुषोत्तम झा, दिलिपकुमार कुर्मी, जलेश्वर सर्राफ र मनोज राउत कुर्मी, महम्मद सहाबुदिन र स्थायी ठेगाना ललितपुर भई हाल बारा जितपुर सिमरा उपमहानगरपालिका २२ बस्ने राजकुमार तिमल्सिनालगायत १९ जनाले उजुरी गरेको हो ।

विभिन्न निकायमा किर्ते नागरिकताविरुद्ध मेयर राजेशमान सिंह, नागरिकता दिलाइदिएका रविना श्रेष्ठ, जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रमुख हाल सामान्य प्रशासन मन्त्रालयमा कार्यरत सहसचिव उमेशकुमार ढकाल, जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृुत षड्कुमार पोखरेल, जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तव र वडाबाट सिफारिस गर्ने तत्कालीन वडा सदस्य तुफैल अखतर ठकुराईलाई विपक्षी बनाई उजुरी गरिएको हो ।

यसअघि मेयर सिंहले ‘नक्कली’ छोरी बनाई नागरिकता दिलाएको आरोप पुष्टि हुने सबै कागजात सक्कली भएको जिल्ला प्र्रशासन कार्यालय पर्साले जनाएको थियो ।