दिक्तेल–रुपाकोट मझुवागढी नगरपालिकाको कृषि एम्बुलेन्स

खोटाङ, माघ २१ गते । दिक्तेल–रुपाकोट मझुवागढी नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । नगरपालिकाभित्रका कृषकले उत्पादन गरेका कृषिउपज निःशुल्क ढुवानी गरेर बजारसम्म पु-याइदिने उद्देश्यका साथ नगरपालिकाले आजदेखि औपचारिकरुपमा कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो ।
पहिलो दिन वडा नं ११ खार्मीस्थित ‘सोती बहुउद्देश्यीय कृषक समूह’ले उत्पादन गरेका कृषिउपज निःशुल्क ढुवानी गरिएको छ । शुभम् फाउण्डेशनले निःशुल्क उपलब्ध गराएको बोलेरो पिकअप भ्यानमार्फत कृषि एम्बुलेन्स सेवा दिन सुरु गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले जानकारी दिनुभयो ।
कृषि एम्बुलेन्समार्फत खार्मीबाट पहिलो पटक आठ सय केजी बन्दाकोभी ढुवानी भएको छ । प्रतिकेजी रु ३० मा बिक्री भइरहेको बन्दाकोभी दिक्तेल बजारका विभिन्न ठाउँमा सञ्चालित तरकारी बिक्री केन्द्रले खरिद गरेका छन् ।
नगरपालिकाले निःशुल्क उपलब्ध गराएको बन्दाकोभीको बेर्नाबाट दुई हजार केजीभन्दा बढी उत्पादन भएको समूहका अध्यक्ष हर्कराज राईले जानकारी दिनुभयो । “हामीले परीक्षणका लागि तीन रोपनी जग्गामा बन्दाकोभीको व्यावसायिक खेती गरेका थियौँ । पहिलो पटकमा राम्रो उत्पादन भएको छ”, उहाँले भन्नुभयो, “यस वर्ष बन्दाकोभीसँगै फूलकोभी, अकबरे खुर्सानी, लसुन, प्याजलगायत विभिन्न प्रजातिका फलफूल तथा तरकारीखेती गर्ने तयारी गरेका छौँ । सामूहिकरुपमा सुरुआत गरिएको तरकारीखेतीलाई व्यावसायिकरुपमा वृद्धि गर्दै लैजाने योजना छ ।”
नगरपालिकाले सुरु गरेको कृषि एम्बुलेन्स लिएर नगरप्रमुख तीर्थराज भट्टराई, नगर उपप्रमुख विशन राई, कृषि शाखा प्रमुख जैसी, शुभम् फाउण्डेशनका प्रबन्ध निर्देशक सूर्यबहादुर राईलगायत खार्मी पुग्नुभएको थियो । आफूले उत्पादन गरेका कृषिउपज बिक्री गर्नका लागि ढुवानी गर्न नसक्दा कतिपय कृषक निरास भइरहेको अवस्थामा नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउनुलाई निक्कै महत्वका साथ हेरिएको छ ।
नगरपालिकाले सुरुआत गरेको कृषि एम्बुलेन्स कार्यक्रमलाई दिगो बनाउन सकेमा कृषकलाई ठूलो राहत हुने वडा नं २ सोल्मा अगुवा कृषक गङ्गाबहादुर विश्वकर्माले बताउनुभयो । “ढुवानी नहुँदा धेरै कृषकको कृषिउपज बारीमै कुहिएर गइरहेको छ । ढिलै भए पनि नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । यसले निरन्तरता पाउन जरुरी छ”, उहाँले भन्नुभयो, “यो महत्वकाङ्क्षी कार्यक्रम हो । दुई÷चार महिना सञ्चालन गरेर बन्द गरेका खण्डमा कृषकको लगानी डुब्नेवाला छ ।”
कृषि एम्बुलेन्स सञ्चालनका लागि यस वर्षका लागि नगरपालिकाबाट रु १० लाख बजेट विनियोजन गरिएको नगर उपप्रमुख राईले जानकारी दिनुभयो । “हामीले कृषिलाई पहिलो प्राथमिकता दिएका छौँ । गाउँगाउँमा कृषक समूह गठन गरिएको छ । कृषक समूह आबद्ध तथा व्यक्तिगतरुपमा कृषि पेसा अपनाएका कृषकलाई नगरकोतर्फबाट बीउ तथा बेर्ना निःशुल्क उपलब्ध गराउँदै आएछौँ”, उहाँले भन्नुभयो, “कृषकले उत्पादन गरेका कृषिउपज खेर जाँदैन । उहाँहरु आफैँ बिक्री गर्नुहुन्छ, हामी ढुवानी गरिदिन्छौँ । उहाँहरुले आफूले उत्पादन गरेका कृषिउपज बिक्री गर्न नसकेको खण्डमा बजारमा चलेको बजार भाउअनुसार हामी आफैँ खरिद गर्छौं । यसले कृषकलाई हौसला मिलेको अनुभूति गरेका छौँ ।”
पन्ध्र वडा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले हावापानी र भूगोलअनुसार ब्लक बनाएर कृषिलाई व्यवसायीकरण गर्ने तयारी गरेको छ । परीक्षणका लागि बन्दाकोभी, फूलकोभी, ब्रो काउली, प्याज, धनिया, लसुन, खुर्सानी, सिमी, बोडीलगायतका तरकारीको बीउ तथा बेर्ना निःशुल्क उपलब्ध गराउँदै आएको छ ।
नगरपालिकाले यो आर्थिक वर्ष तीन लाख कफीको बेर्ना, ७० लाख प्याजको बेर्ना, ४० हजार किबीको बेर्ना र रु चार लाख बराबरको लसुनको बीउ वितरण गरिने जनाइएको छ । केरा पकेट क्षेत्रअन्तर्गत रु छ लाखको कार्यक्रम पनि यसै वर्ष लागू गरिने कृषि शाखा प्रमुख जैसीले जानकारी दिनुभयो ।
नगरपालिकाले ‘उत्पादनमा नगर उपप्रमुख’ कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । नगरसभाबाट पारित उत्पादनमा नगर उपप्रमुख कार्यक्रमका लागि यो वर्ष रु ४० लाख बजेट रहेको नगरपालिकाले जनाएको छ ।