सर्वोच्चको आदेश अवज्ञा गर्दै गाउँपालिकाले दियो फागनु १ गते विदा

कैलाली, माघ २९ गते । सर्वोच्च अदालतले ‘जनयुद्ध दिवस’मा बिदा दिने सरकारको निर्णय खारेज गर्दा पनि कैलालीको मोहन्याल गाउँपालिकाले भने दिवसको अवसरमा स्थानीय बिदा दिएको छ ।

गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायले एक विज्ञप्ति जारी गर्दै गाउँपालिका भित्रका सम्पूर्ण कार्यालय तथा शैक्षिक संस्थामा स्थानीय बिदा दिएको जानकारी गराएका छन् । साथै उक्त दिन सहिद बेपत्ता र घाइते भएका व्यक्तिहरू तथा आफन्तलाई सम्मान गर्ने कार्यक्रम रहेको समेत जनाएका छन् । उपाध्याय माओवादीबाट निर्वाचित गाउँपालिका अध्यक्ष हुनुहुन्छ ।

यस अघि सर्वोच्चले संक्रमणलीन न्याय प्रभावित हुनसक्ने तथा द्वन्द्वपीडितहरूको भावना चोट पर्न सक्ने भन्दै जनयुद्ध दिवसमा बिदा दिने निर्णय खारेज गरेको थियो ।

१ फागुनमा सशस्त्र द्वन्द्व सुरु भएको मितिलाई स्मरण गर्दै गत वर्ष मन्त्रिपरिषद्ले उक्त दिनलाई जनयुद्ध दिवसका रूपमा मनाउने र बिदा दिने निर्णय गरेको थियो । गत वर्ष २९ माघमा सरकारले गरेको यस निर्णयविरुद्ध रिटहरू दायर भएका थिए ।

द्वन्द्वपीडितहरूले यस बिदाले आफूहरूको भावनामा चोट पुगेको दाबी गरेका थिए ।