अवैध संरचना हटाउन छायाँनाथ रारा नगरपालिकाले थाल्यो रेखांकन

मुगु, माघ २५गते । जिल्लाको छायाँनाथ रारा नगरपालिकाले सुन्दर गमगढी बजार निर्माण गर्न सार्वजानिक रुपमा निर्माण भएका घर टहरा हटाउन रेखांकन गर्न थालेको छ ।

बुधबार सुरक्षाकर्मी, नगरपालिका तथा अन्य सरोकारवाला निकायको सहभागितामा सुरु गरिएको रेखांकन गर्ने कार्य गमगढी बजारको अदालत चोकदेखि बीच बजारसम्म गरिनेछ ।

गमगढी बजारमा सार्वजानिक जग्गामा निर्माण भएका भ-याङ, सडकपेटी, बार्दली, टहरालगायतका अवैध संरचनाहरु हटाउन जारी गरेको सार्वजनिक सुचनाअवज्ञा गरेपछि नगरपालिका स्वयं रेखांकन गर्न सुरु गरेको छायानाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णु कुमार भामले जानकारी दिनुभयो ।

रेखांकन कार्य सकिएपछि सार्वजानिक रुपमा निर्माण भएका टहरा हटाइने उहाँको भनाई छ । नगरपालिकाले सदरमुकाम गमगढी बजारमा रहेका अव्यवस्थित घर टहरा हटाउन तीन पटकसम्म सार्वजनिक सूचना जारी गरेर आग्रह गरेको थियो ।

तर, सूचना अवज्ञा गर्दै बजारवासीले अव्यवस्थित घर टहरा भत्काएका छैनन् भने नगरपालिकाले पनि उर्दी जारी गर्नेबाहेक अरु केही गर्न सकेको थिएन । सदरमुकाम गमगढी बजारलाई व्यवस्थित बनाउन निवर्तमान नगर प्रमुखदेखि अहिले जनप्रतिनिधिले अव्यवस्थित घरटहरा हटाउने कार्यमा जुटेका छन् ।

सदरमुकाम गमगढी बजारमा रहेका घरका बार्दली, भ-याङ, छतलगायत अन्य अव्यवस्थित संरचना हटाउन नगरपालिका लागिपरेको छ । जथाभावी रुपमा फोहोरमैला फ्याल्ने, सडकमै पानी फाल्ने, लुगा धुनेजस्ता अन्य कार्यले बजार कुरुप र दुर्गन्धित भएकाले अब नगरपालिकाले व्यवस्थित गरेरै छाड्ने प्रमुख भामले बताउनुभयो ।