वर्षाका कारण काठमाडौँ जलमग्न, सतर्कता अपनाउन सबैमा अनुरोध

काठमाडौँ– आज बिहानैदेखि काठमाडौँलगायत देशभर वर्षा भइरहेको छ । अविरल वर्षाका कारण काठमाडौँका सडकहरू जलमग्न भएका छन् भने यातायात तथा अन्य जनजीवन अस्तव्यस्त बनेको छ ।

काठमाडौँका मुख्य सडकहरू पानी जमेको छ भने मानिसहरूलाई आवतजावत गर्न समस्या भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले आज र भोलि भारी वर्षा हुन सक्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
अहिले सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, नवलपरासी पूर्व, नवलपरासी पश्‍चिम, रूपन्देही, कपिलवस्तु र आसपासका जिल्ला भई बहने नदीहरूमा पानीको बहाव बढेको छ ।

महाशाखाले काठमाडौँस्थित विष्णुमती नदीको गोङ्गबु जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र आसपास बसोबास गर्ने र सो नदी किनार भई यात्रा गर्नेहरूले दिउँसो २ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । त्यसैगरी ललितपुरस्थित खोड्कु खोला झरुवारासी जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको, नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले दिउँसो २ बजे सम्मै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

यस्तै, मेलम्ची, बागमती, विष्णुमती, धोबी खोला, हनुमन्ते खोला, कालिगण्डकीका सहायक नदीहरू, तिनाउ, वाणगङ्गा, कञ्चनखोला, दानो खोला लगायतका अन्य ससाना नदीमा बहाव बढ्ने भएकाले सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ ।