आजदेखि छैमले-कुलेखानी सडक १२ दिनसम्म बन्द

दक्षिणकाली नगरपालिकाले छैमले-कुलेखानी सडकखण्ड सडक स्तरोन्नतिका लागि आज असोज ८ गतेदेखि १२ दिनका लागि आवागमन बन्द गरेको छ ।

दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले कालोपत्रे गर्ने काम भइरहेकाले छैमलेदेखि मकवानपुरतर्फको खण्ड पूरै बन्द गरिएको जानकारी दिए । नगरपालिकाले कालोपत्र नसकिउन्जेल सवारी चालक तथा यात्रुहरुलाई वैकल्पिक सडक प्रयोग गर्न भनेको छ र सो कामका लागि सहजीकरण गरिदिन नगरपालिकाले काठमाडौं र मकवानपुरका जिल्ला प्रशासन कार्यालयलाई अनुरोध समेत गरेको छ ।

केन्द्रीय राजधानी काठमाडौं र बागमती प्रदेशको राजधानी हेटौंडा जोड्ने यो सडक सबैभन्दा छोटो दुरीको हो । बागमती प्रदेश सडक गुरुयोजना अन्तर्गत निर्माण भइरहेको सो सडकलाई ‘प्रदेश लोकमार्ग’ नामकरण गरिएको छ ।