
काठमाडौं — विपक्षी दलहरूले सत्ता घटक मुख्य दल नेपाली कांग्रेस र नेकपा एमाले थ्रेसहोल्डको नाममा दुई दलीय तानाशाही बन्न खोजेको आरोप लगाएका छन् । शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा ६ दलले संयुक्त पत्रकार सम्मेलन गरी संविधान विपरीत सत्तामा टिकिराख्न र विपक्षीलाई फुटाउन अध्यादेशमार्फत पटकपटक सरकारले प्रयास गरेको आरोप लगाएको हो ।
यसैगरी शान्ति प्रक्रियाका बाँकी कामसँग सम्बन्धित बेपत्ता नागरिकको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग गठनको प्रक्रिया अवरुद्ध पारिएको भन्दै उक्त प्रक्रियालाई अविलम्ब अघि बढाई पीडितहरूलाई न्याय दिन सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । यसका साथै, सरकारलाई खराब नजिर बस्ने गरी बिना आधार संवैधानिक परिषदमा शक्ति सन्तुलन खलबल्याउने दुष्प्रयास नगर्न समेत चेतावनी दिएका छन् ।