पोखरा, — मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डमा ठाउँ–ठाउँमा परेका खाल्डाखुल्डी र सडक भासिँदा यातायात सञ्चालन जोखिमपूर्ण बनेको छ । पर्यटकीय राजधानी पोखरालाई जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारीचालक दुबैलाई सास्ती भएको छ ।
पोखरा–बागलुङ रुटमा चल्ने विद्युतीय माइक्रो चालक डम्मर केसीका अनुसार सडकका कतिपय भागमा ठूला–ठूला खाल्डा परेका छन् र केही ठाउँमा सडक नै भासिएको छ । “सडक बिग्रँदा सहज रूपमा गाडी चलाउन सकिँदैन, दुर्घटनाको जोखिम बढेको छ,” उनले भने, ।
सडक डिभिजन कार्यालय पोखराका सबइन्जिनियर लोकेश पौडेलले कास्कीको फेदीदेखि नयाँपुल र नयाँपुलदेखि पर्वतको मालढुङ्गासम्म गरी दुई खण्डमा मर्मतसम्भार हुने जानकारी दिए । उनका अनुसार शिवालय निर्माण सेवाले ठेक्का पाएको छ र दसैँ–तिहारपछिका कारण ढिलो भए पनि चाँडै मर्मत सुरु हुने छ ।
पौडेलका अनुसार मर्मतका लागि बजेट सीमित भएकाले सबै ठाउँमा एकैपटक काम गर्न कठिनाइ भए पनि प्राथमिकता दिएर मर्मत अघि बढाइनेछ । चालक र स्थानीयवासीले शीघ्र मर्मत नहुँदा हिउँदमा धुलोको समस्या थपिने चेतावनी दिएका छन् ।



